जनकपुरधाम, १४ वैशाख । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले ल्याएको ‘प्रदेश पत्रकारिता पुरस्कार, अध्ययन तथा लेखन छात्रवृत्ति तथा प्रोत्साहन कार्यविधि’को मस्यौदामाथि जनकपुरधाममा व्यापक छलफल भएको छ ।
सोमबार प्राधिकरणद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति तथा विभिन्न जिल्लाका अध्यक्षसहितका पत्रकारहरूले मस्यौदामाथि आफ्ना सुझाव प्रस्तुत गरेका छन् ।
प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब दुई दर्जन पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यविधिको उद्देश्य, संरचना तथा कार्यान्वयन पक्षबारे आफ्ना धारणा राख्दै विभिन्न बुँदामा संशोधन आवश्यक रहेको औंल्याएका छन् । उनीहरूले समग्र कार्यविधिलाई अझ व्यावहारिक, प्रभावकारी र पत्रकारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
मधेश प्रदेशलाई कार्यक्षेत्र बनाई आमसञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई प्रोत्साहित गर्ने, उनीहरूको बौद्धिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने तथा निष्पक्ष, मर्यादित, व्यावसायिक र जवाफदेही पत्रकारिताको विकास गर्ने उद्देश्यले उक्त कार्यविधि ल्याइएको प्राधिकरणले जनाएको छ । प्रदेश सञ्चार नियमावली, २०७७ को दफा (ज१) मा उल्लेखित उद्देश्य पूरा गर्न तथा प्रदेश सञ्चारसम्बन्धी ऐन, २०७७ को दफा ७१ र नियमावलीको नियम ३८ बमोजिम कार्यविधि निर्माण गरिएको अध्यक्ष खड्गले जानकारी दिएका छन् ।
छलफलमा सहभागी पत्रकारहरूले पत्रकारिता पुरस्कार, अध्ययन तथा लेखन छात्रवृत्ति र प्रोत्साहनजस्ता तीन फरक विषयलाई एउटै कार्यविधिमा समेट्दा कार्यान्वयनमा जटिलता उत्पन्न हुन सक्ने तर्क प्रस्तुत गरेका छन् । उनीहरूले यी विषयलाई छुट्टाछुट्टै कार्यविधिका रूपमा ल्याउनुपर्ने सुझाव दिएका छन् । साथै, मस्यौदामा केही महत्वपूर्ण पक्ष छुटेको उल्लेख गर्दै ती विषयहरू समेट्न आग्रह गरेका छन् ।
सहभागीहरूले कार्यविधि निर्माण गर्दा निष्पक्षता, पारदर्शिता र पेशागत स्वतन्त्रता सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूको भनाइमा यस्तो कार्यविधि सञ्चारकर्मीहरूको हितमा केन्द्रित हुनुपर्ने हो, नकि सरकारको नियन्त्रण वा प्रभावमा रहने । विगतमा बनेका सञ्चारसम्बन्धी ऐन तथा नियमावलीमा देखिएका कमजोरी दोहोरिन नदिन विशेष ध्यान दिनुपर्ने उनीहरूले बताएका छन् ।
कार्यक्रममा उठेका सुझावहरूलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्दै प्राधिकरण अध्यक्ष खड्गले छलफलबाट प्राप्त सुझावहरूलाई अन्तिम कार्यविधिमा समावेश गरिने बताएका छन् ।
छलफल कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, प्रदेश अध्यक्ष श्याम बन्जारा, लेखा समिति संयोजक केसी लामिछाने, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव, वरिष्ठ पत्रकार वृजकुमार यादव, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास, जिल्ला अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत, पूर्व अध्यक्ष मनिका झा, सप्तरी अध्यक्ष श्रवण देव, पूर्व अध्यक्ष धीरेन्द्र साह, प्रेमचन्द्र झा, आतिश मिश्रलगायतले मस्यौदामाथि आफ्ना धारणा राखेका थिए ।


