जनकपुरधाम, १७ वैशाख । गुठी संस्थानको जग्गामा बसोबास गर्दै आएका जनकपुरधामका स्थानीयवासीहरूले नेपाल सरकारविरुद्ध प्रदर्शन गरेका छन् । हालै विभिन्न स्थानमा सुकुमवासी बस्ती हटाउने क्रममा डोजर प्रयोग गरिएको घटनापछि सम्भावित असरप्रति चिन्ता व्यक्त गर्दै उनीहरू सडकमा उत्रिएका हुन् ।
‘गुठी–कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समिति’ को ब्यानरमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारले जबरजस्ती घरटहरा भत्काउने प्रयास गरेको आरोप लगाएका छन् । उनीहरूले ‘डोजर आतंक’ रोक्न र प्रभावित परिवारहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूको मुख्य माग आफूहरू बसोबास गरिरहेको जग्गाको स्वामित्व प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउनु रहेको छ। उनीहरूले दीर्घकालदेखि बसोबास गर्दै आएको जग्गामा अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
स्थानीयहरूका अनुसार गुठी जग्गामा बनेका घरटहरा भत्काइने हल्ला फैलिएपछि त्रासको वातावरण सिर्जना भएको छ। यसले उनीहरूलाई आन्दोलनमा उत्रिन बाध्य बनाएको बताइएको छ।
यसअघि २०६२ सालमा भोजराज घिमिरे नेतृत्वमा गठित कार्यदलले जनकपुरधाम क्षेत्रमा करिब १० बिघा गुठी जग्गा अतिक्रमणमा परेको तथ्य सार्वजनिक गरेको थियो। त्यसयता गुठी जग्गा व्यवस्थापनको विषय पटक–पटक उठे पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन।
प्रदर्शनकारीहरूले सुकुमवासीहरूको उचित पुनर्वासको व्यवस्था नगरी बलपूर्वक हटाउने प्रयास अस्वीकार्य हुने चेतावनी दिएका छन्। उनीहरूले सरकारसँग संवादमार्फत समाधान खोज्न र प्रभावित परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गरेका छन्।


