जनकपुरधाम, १८ वैशाख । जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि उत्पन्न विवाद अन्ततः मिलापत्रमा टुंगिएको छ।
वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो। घटनापछि आक्रोशित आफन्तजनले अस्पतालमा तोडफोड गरेका थिए।
मृतक परिवारका अनुसार, शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै थप एक लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप दिएर घटना मिलापत्र गरिएको हो।

प्रहरी प्रशासनले अस्पताललाई संरक्षण गरेको आरोप लगाउँदै आफन्तजनले बाध्य भएर मिल्नुपरेको बताएका छन्। मृतक परिवारका तर्फबाट समन्वय गरेका बलवा नगरपालिका–१ का वडाध्यक्ष पप्पु ठाकुरले पनि मिलापत्र भएको पुष्टि गरेका छन्।
शल्यक्रियापछि अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तजनले विरोध जनाएका थिए। मृतकका ससुरा दयाराम पासवानका अनुसार ‘प्वाल पारेर’ (ल्याप्रोस्कोपिक) शल्यक्रिया गर्ने सहमतिमा भर्ना गरिए पनि चिकित्सकले चिरेर शल्यक्रिया गर्दा ज्यान गएको दाबी गरिएको छ।
परिवारजनले घटनाको छानबिन गरी दोषी चिकित्सक र अस्पताललाई कारबाही तथा उचित क्षतिपूर्ति दिन माग गरेका थिए। दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको थियो।
तर आर्थिक अवस्था कमजोर हुनु, कानुनी प्रक्रिया झन्झटिलो हुनु तथा प्रहरी प्रशासनसमेत अस्पतालकै पक्षमा देखिएको आरोपका कारण अन्ततः मिलापत्र गर्न बाध्य भएको एक आफन्तले बताए।
यसैबीच, धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले मृतक परिवार र अस्पतालबीच सहमति भएपछि घटना टुंगिएको जानकारी दिएका छन्।


