काठमाडौं २७ वैशाख। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।
इन्टरपोलले रेड नोटिस जारी गर्न थप कागजात मागेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले आवश्यक विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
‘केही दिनअघि इमेलमार्फत थप कागजात माग गरिएको थियो । सोहीअनुसार आवश्यक कागजात पठाएका छौँ,’ प्रहरी स्रोतले भन्यो ।
गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया समेत अघि बढाइएको थियो ।
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरिसकेको छ । तर, आवश्यक कागजात अपुग भएको भन्दै इन्टरपोलले हालसम्म रेड नोटिस जारी गरेको छैन ।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमा रहेका थिए । निर्वाचनको पूर्वसन्ध्यामा उनीहरू गत १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ ।
यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै उनीहरू सिंगापुर गएका थिए । त्यतिबेला भने उपचारपछि नेपाल फर्किएका थिए । तर, यसपटक १४ फागुनमा देश छाडेपछि उनीहरू हालसम्म स्वदेश फर्किएका छैनन् ।
स्रोतका अनुसार देउवा दम्पती अहिले पनि हङकङमै रहेका छन् ।
यदि रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिनेछ ।



