जनकपुरधाम, १५ जेठ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण कार्य सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको स्वामित्वमा रहेको जग्गामा आयोजित एक कार्यक्रमबीच भवनको शिलान्यास गरिएको हो ।
भवन निर्माणको शिलान्यास मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले धार्मिक विधिविधान अनुसार पूजापाठ गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले पत्रकार महासंघको भवन निर्माण सम्पन्न गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मधेश प्रदेश सरकारले यसअघि नै भवन निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उल्लेख गर्दै आगामी बजेटमा समेत आवश्यक रकम उपलब्ध गराइने स्पष्ट पारे ।
सञ्चार क्षेत्रको सुदृढीकरण तथा पत्रकारहरूको संस्थागत विकासप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले स्वतन्त्र र जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताए ।
महासंघका अनुसार भवन निर्माणका लागि गुठी संस्थान बाट चार कठ्ठा जग्गा लिजमा प्राप्त भएको छ । जनकपुरधाम–४ स्थित तैनाथी गुठीको उक्त जग्गामा अब महासंघको आफ्नै भवन निर्माण गरिनेछ ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले आफ्नै भवन निर्माण सुरु हुनु महासंघका लागि ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका थिए ।



