जनकपुरधाम, २० जेठ । भारत सरकारको आर्थिक सहयोगमा रौतहट जिल्लाको रजदेवी नगरपालिकामा निर्माण हुन लागेको विद्यालय भवन तथा पुस्तकालय भवनको शिलान्यास गरिएको छ ।
भारतका महावाणिज्यदूत देव सहाय मीना तथा रजदेवी नगरपालिकाका नगरप्रमुख शिवनारायण प्रसाद यादवले संयुक्त रूपमा रजदेवी नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालय मा निर्माण हुने भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको करिब २ करोड ८४ लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा विद्यालय तथा पुस्तकालय भवन निर्माण हुन लागेको हो । उक्त परियोजना भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालन गरिने जनाइएको छ।

निर्माण हुने भवनमा दुई तल्ला रहनेछन् । भवनमा आठवटा कक्षाकोठा, छात्र–छात्राका लागि शौचालय, सेप्टिक ट्याङ्की, खानेपानी तथा सरसफाइका आवश्यक पूर्वाधारसहित अन्य शैक्षिक सुविधाहरू समावेश गरिनेछन्। परियोजनाको कार्यान्वयन रजदेवी नगरपालिकामार्फत गरिने बताइएको छ ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख यादव, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूले शिक्षा क्षेत्रको विकासमा भारत सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत मीनाले भारत र नेपालबीचको विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यअनुरूप शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा सहयोग जारी रहने बताए। उनले यस्ता परियोजनाले स्थानीय समुदायको जीवनस्तर उकास्न र शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।
भारत सरकारद्वारा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू नेपाल सरकारको विकास प्रयासलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन हुँदै आएका छन्। भारतले नेपालका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आएको छ।



