जनकपुरधाम २७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनुमति बिना भिडियो वा फोटो खिच्ने, सामाजिक सञ्जालका लागि सामग्री बनाउने, स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्ने तथा उपचार प्रक्रियामा अवरोध पु¥याउने गतिविधिप्रति कडा चेतावनी दिएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय केही व्यक्तिहरू अस्पताल परिसरमा पूर्वस्वीकृति बिना प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको भिडियो तथा फोटो खिच्ने, अन्तर्वार्ताका नाममा भिडभाड गर्ने र उपचारमा संलग्न चिकित्सक तथा कर्मचारीको काममा बाधा पु¥याउने घटनाहरू बढेको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयताको अधिकार हनन हुनुका साथै संवेदनशील अवस्थामा रहेका बिरामीको उपचार प्रक्रियामा समेत प्रतिकूल असर पर्ने गरेको छ ।
विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो वा फोटो खिच्नु, स्वास्थ्यकर्मीलाई अनावश्यक दबाब दिनु तथा दुव्र्यवहार गर्नु प्रचलित कानुनविपरीत रहेको उल्लेख गरिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ तथा मुलुकी अपराध संहिता, २०७४ मा यस्ता गतिविधिलाई कानुनी कारबाहीको दायरामा ल्याउने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।
मन्त्रालयले अस्पताल वा स्वास्थ्य संस्थासँग सम्बन्धित कुनै पनि फोटो वा भिडियो लिनुअघि सम्बन्धित संस्थाको पूर्वस्वीकृति लिन र बिरामीको गोपनीयताको सम्मान गर्न सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
यदि कसैले अनुमति बिना अस्पतालभित्र भिडियो वा फोटो खिच्ने, उपचारमा अवरोध गर्ने वा स्वास्थ्यकर्मीमाथि हातपात तथा दुव्र्यवहार गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई समेत आवश्यक निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
साथै मन्त्रालयले उपचारका क्रममा कुनै स्वास्थ्यकर्मीबाट कमजोरी भएको गुनासो भए सम्बन्धित निकायमा उजुरी गरी कानुनी प्रक्रियाबाट समाधान खोज्न आग्रह गर्दै, अस्पतालभित्र होहल्ला, दबाब वा अवरोध सिर्जना नगर्न सबै पक्षसँग अपिल गरेको छ । एआईद्वारा निर्मित तस्वीर



