जनकपुरधाम, २७ असार । जनकपुरधामस्थित सामाजिक संस्था श्री राम युवा कमिटीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ ।
शनिबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजेसम्म सञ्चालन भएको थियो । निर्वाचनमा कुल २३३ मत खसेको निर्वाचन प्रमुख निर्मलकुमार चौधरीले जानकारी दिएका छन ।
उनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । साँझ ६ बजेदेखि मतगणना सुरु गरिने तयारी गरिएको उनले बताएका छन् ।
कमिटीको अध्यक्ष पदका लागि अजय ठाकुर, अनिकेतकुमार ठाकुर, गणेशप्रसाद साह, पंकजकुमार आजाद, रामप्रताप साह, सरोजकुमार साह र विजयकुमार साह (दुबई) गरी सात जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि अजयकुमार ठाकुर, शिव ठाकुर सोनार र उपेन्द्र भण्डारी चुनावी प्रतिस्पर्धामा छन्।
उपाध्यक्ष पदमा दीपककुमार साह निर्विरोध निर्वाचित भइसकेका छन्।
महासचिव पदका लागि विनोद ठाकुर, शम्भुलाल दास र सुभाषचन्द्र साह उम्मेदवार छन् भने सचिव पदमा अजयकुमार साह, आनन्दकुमार मण्डल, लोकेश्वर झा र सञ्जय ठाकुर प्रतिस्पर्धामा रहेको निर्वाचन प्रमुख चौधरीले जानकारी दिए।
कमिटीका पूर्वअध्यक्ष रामबाबु साहका अनुसार कमिटीमा १५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ। यसबाहेक दुई सदस्य मनोनीत गरिने र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने प्रावधान रहेको उनले बताए।



