जनकपुरधाम, २९ असार । मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले पत्रकारिता निष्पक्ष, तथ्यमा आधारित र आचारसंहिताअनुरूप हुनुपर्नेमा जोड दिएकी छन् ।
महोत्तरीको बर्दिवासमा सोमबार मिडिया काउन्सिलद्वारा आयोजित ‘पत्रकार आचारसंहितालाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री थापाले पत्रकारहरू कसैको राजनीतिक वा अन्य स्वार्थको प्रयोगमा पर्न नहुने बताइन् ।
उनले पछिल्लो समय केही पत्रकार राजनीतिक दलका नेता तथा सुरक्षा निकायको प्रभावमा परेर काम गरिरहेको भन्ने गुनासो सुनिन थालेको उल्लेख गर्दै सचेत रहन आग्रह गरिन् । “तपाईंहरूको काँधमा बन्दुक राखेर चलाउने प्रयास हुन सक्छ । त्यसबाट सचेत हुनुपर्छ । पत्रकार कहिल्यै कसैको प्रयोगमा पर्नु हुँदैन । सत्यतथ्यका आधारमा मात्रै समाचार प्रकाशन–प्रसारण गर्नुपर्छ,” उनले भनिन् ।
मन्त्री थापाले संघीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिएको उल्लेख गर्दै संघीयता संस्थागत गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् । “संघीयता स्थापना गर्न पत्रकारहरूको पनि ठूलो योगदान छ । अब त्यसको संरक्षणका लागि जनचेतना फैलाउने र संघीयताका पक्षमा तथ्यमा आधारित कलम चलाउन आवश्यक छ,” उनले भनिन् ।
उनले पत्रकार आचारसंहिता भाषणको विषय नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने विषय भएको बताउँदै सूचनामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखिन् । पत्रकारिताप्रति जनविश्वास घट्दै गएको चर्चा गर्दै उनले यसले समाज र लोकतन्त्र दुवैलाई नकारात्मक असर पार्ने चेतावनी दिइन् ।

मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार आचारसंहिताको अवस्था, समस्या, चुनौती र समाधानका उपाय सम्बन्धी चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य राजेश कर्ण, राजु विश्वकर्मा र महोत्तरी शाखाका अध्यक्ष महेश दासले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, केन्द्रीय सहसचिव राजकमल सिंह, राजेश कर्ण, सिकेन्द्र पासमान, राजु पासमान, वरिष्ठ पत्रकार रविन्द्र उप्रेती तथा धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतलगायतले पत्रकारिता, सञ्चारमाध्यमको वर्तमान अवस्था र चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए।



