जनकपुरधाम, ३० असार । जनकपुरधाम उपमहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आन्तरिक आय वृद्धि, पूर्वाधार विस्तार तथा शहरी उत्थानशीलता परियोजनालाई मुख्य प्राथमिकतामा राख्दै नगरप्रमुख मनोजकुमार साहले नगरसभामा बजेट प्रस्तुत गरेका हुन् ।प्रस्तुत बजेटअनुसार नेपाल सरकारबाट प्राप्त हुने ३० करोड ५९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, मधेश प्रदेश सरकारबाट प्राप्त हुने करिब २ करोड रुपैयाँ समानीकरण अनुदान, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, सशर्त अनुदान, चालु आर्थिक वर्षको बचत रकम तथा अन्य स्रोतबाट बजेट व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
साथै, उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पनि निर्धारण गरेको छ ।
नगरप्रमुख साहले आगामी आर्थिक वर्षको बजेटले नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गर्दै आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको बताए ।
बजेटमा नगर सरसफाइ, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि विकास, रोजगारी सिर्जना, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, नगर सौन्दर्यीकरण र शहरी उत्थानशीलता परियोजनालाई विशेष प्राथमिकतामा राखिएको छ ।
उपमहानगरपालिकाले आगामी वर्ष विकास निर्माणसँगै सेवा प्रवाहको गुणस्तर सुधार, आन्तरिक आयको दायरा विस्तार तथा दिगो शहरी विकासलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।



