जनकपुरधाम, ३१ असार । मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंहले मधेश प्रज्ञा प्रतिष्ठानप्रति सरकारले पूर्वाग्रहपूर्ण ढंगले बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।
बुधबार प्रदेशसभाको बैठकमा बोल्दै उनले मधेश प्रज्ञा प्रतिष्ठानका लागि घरभाडा शीर्षकमा १ लाख ९० हजार रुपैयाँ, सवारी भाडाका लागि ५ हजार रुपैयाँ र वृत्तचित्र निर्माणका लागि मात्र १ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै यस्तो बजेट प्रतिष्ठानको गरिमा, उद्देश्य र जिम्मेवारीअनुकूल नभएको बताए ।
उनले मधेश प्रज्ञा प्रतिष्ठान प्रदेशको भाषा, साहित्य, संस्कृति, इतिहास तथा अनुसन्धानको संरक्षण, प्रवद्र्धन र विकासका लागि स्थापना गरिएको संस्था भएको स्मरण गराउँदै बजेटको अवस्थाले सरकार यस संस्थाप्रति गम्भीर नरहेको स्पष्ट संकेत गरेको टिप्पणी गरे।
सिंहले शिक्षा, अनुसन्धान, भाषा, साहित्य र संस्कृतिमा गरिने लगानी नै प्रदेशको दीर्घकालीन विकास र समृद्धिको आधार भएको उल्लेख गर्दै यस्ता क्षेत्रलाई उपेक्षा गर्नु दुर्भाग्यपूर्ण भएको बताए। प्रदेश सरकारले आफ्नै नीति तथा कार्यक्रमको भावना विपरीत बजेट विनियोजन गरेको आरोप लगाउँदै उनले शिक्षा र संस्कृतिलाई औपचारिकतामा सीमित गर्ने प्रवृत्ति तत्काल सच्याउन आग्रह गरे।
उनले मधेश प्रज्ञा प्रतिष्ठानको बजेट पुनरावलोकन गरी पूर्वाधार विकास, अनुसन्धान, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट सुनिश्चित गर्न सरकारसँग माग गरे। साथै शिक्षा तथा संस्कृतिसम्बन्धी बजेटको पुनः समीक्षा गरी आवश्यक संशोधन गर्नुपर्नेमा पनि उनले जोड दिए।



