जनकपुरधाम,१ साउन । मधेश प्रदेश सरकारले अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूको सहज आवतजावत र आत्मनिर्भर जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले १७ थान विद्युतीय (इलेक्ट्रिक) ट्राइसाइकल वितरण गरेको छ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री लखन दासले लाभग्राहीहरूलाई ट्राइसाइकल हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव सुशीलकुमार साह तेली, वरिष्ठ उपसचिव धर्मेन्द्रलाल कर्ण, मन्त्रालयका कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दासले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक, सहज र आत्मनिर्भर जीवन सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस्ता सहयोगमूलक कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
विद्युतीय ट्राइसाइकल प्राप्त गरेपछि लाभग्राहीहरूले दैनिक आवतजावत, शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीमा पहुँच सहज हुने विश्वास व्यक्त गर्दै प्रदेश सरकारप्रति आभार प्रकट गरेका थिए।
मन्त्रालयका अनुसार उक्त वितरण कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।



