जनकपुरधाम, २ साउन । जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसम्बन्धी समाचारलाई मर्यादित, समावेशी र मानवअधिकारमैत्री ढङ्गले सम्प्रेषण गर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ, नेपालद्वारा शनिबार जनकपुरधाममा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरिएको हो । कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी नैतिक, समावेशी र मानवअधिकारमा आधारित पत्रकारिताबारे छलफल गरिएको थियो ।
कार्यक्रममा महासंघकी सिमरण सेरचनले ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी नैतिक, समावेशी र मानवअधिकारमा आधारित पत्रकारिता निर्देशिका’ सार्वजनिक गर्नुभयो ।
निर्देशिकामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसम्बन्धी समाचार तयार गर्दा सत्य, निष्पक्ष, सम्मानजनक तथा अधिकारमुखी दृष्टिकोण अपनाउनुपर्ने उल्लेख गरिएको छ। साथै व्यक्तिको गोपनीयता, सुरक्षा र सहमतिलाई प्राथमिकता दिन तथा सनसनीपूर्ण प्रस्तुति र विभेदपूर्ण भाषा प्रयोग नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।
कार्यपत्र प्रस्तुत गर्दै सेरचनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै पनि सामाजिक बहिष्कार, विभेद, हिंसा र गलत सूचनाको सिकार भइरहेको बताउनुभयो। उहाँले यस्ता समस्या न्यूनीकरण गर्न सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुने भएकाले पत्रकारितालाई थप जिम्मेवार र संवेदनशील बनाउन निर्देशिका तयार गरिएको स्पष्ट पार्नुभयो ।
निर्देशिकामा नेपालको संविधानले सुनिश्चित गरेको समानताको अधिकार, विभेदविरुद्धको अधिकार, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र सामाजिक न्यायका प्रावधानसँगै अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्तसमेत समेटिएका छन्। साथै यौनिक तथा लैङ्गिक विविधतालाई कुनै रोग वा विकृतिका रूपमा चित्रण गर्न नहुने स्पष्ट उल्लेख गरिएको छ ।
पत्रकार आचारसंहिताअनुसार समाचार लेख्दा व्यक्तिको सहमति, गोपनीयता, सम्मानजनक भाषा र सार्वजनिक हितबीच सन्तुलन कायम गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
निर्देशिकाले समाचार सम्प्रेषणका क्रममा व्यक्तिले आफूलाई जसरी चिनाउन चाहेको छ, त्यसैअनुसार सम्बोधन गर्न, पहिचानभन्दा अधिकार र मुद्दालाई प्राथमिकता दिन तथा स्पष्ट सहमति लिएर मात्र व्यक्तिगत विवरण वा अनुभव सार्वजनिक गर्न सुझाव दिएको छ ।
त्यसैगरी, सहमतिबिना कसैको यौनिक वा लैङ्गिक पहिचान सार्वजनिक नगर्न, सनसनीपूर्ण शीर्षक प्रयोग नगर्न, अपमानजनक वा विभेदपूर्ण भाषा प्रयोग नगर्न तथा यौनिक वा लैङ्गिक पहिचानलाई अपराध, अनैतिकता वा सामाजिक समस्याका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।
महासङ्घले जिम्मेवार, संवेदनशील र समावेशी पत्रकारितामार्फत समाजमा सम्मान, समानता र मानवअधिकारको प्रवद्र्धन गर्न सबै सञ्चारकर्मीलाई उक्त निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।



