जनकपुरधाम, २ साउन । हरवाचरवा मुक्तिको घोषणा भएको चार वर्ष पूरा भएको अवसरमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै हरवाचरवा समुदायको पूर्ण पुनःस्थापना गर्न सरकारसँग माग गरेको छ ।
मञ्चले कानुनी रूपमा मुक्तिको घोषणा भए पनि हरवाचरवा समुदाय अझै भूमि, आवास, नागरिकता, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी र सरकारी सेवाको पहुँचबाट वञ्चित रहेको जनाएको छ । भूमि र बसोबासको प्रमाण नहुँदा धेरै हरवाचरवाले नागरिकता तथा राज्यका सेवासुविधा पाउन नसकेको मञ्चको भनाइ छ।
मञ्चले हरवाचरवाको लगत संकलन र परिचयपत्र वितरण निर्देशिका तत्काल लागू गर्न, मधेशका आठै जिल्लामा लगत संकलन सुरु गर्न, जीविकोपार्जन तथा आवास कार्यक्रम सञ्चालन गर्न र भूमिहीन हरवाचरवालाई जग्गा उपलब्ध गराई पुनःस्थापना गर्न सरकारसँग चारबुँदे माग राखेको छ।
कार्यक्रममा वक्ताहरूले हरवाचरवा समुदायलाई शिक्षा, स्वास्थ्य, भूमि अधिकार, रोजगारी र सामाजिक न्यायको सुनिश्चितता भएपछि मात्र वास्तविक मुक्ति हुने बताए । उनीहरूले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्न र सरकार, नागरिक समाज, विकास साझेदार तथा सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।



