जनकपुरधाम, २ साउन । नेकपा (एमाले)का नेता तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले प्रतिपक्ष दलसँग सहकार्य नगरी एकलौटी ढंगले अघि बढ्न खोज्ने सरकार दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको तत्काल आलोचना गर्न आफू इच्छुक नरहेको बताए । “सरकार गठन भएको करिब चार महिना मात्र भएको छ । सरकारले प्रारम्भिक तीन महिनाभित्र परिणाम दिने प्रतिबद्धता जनाएको थियो, तर त्यसअनुसार काम भएको देखिएको छैन । आगामी दिनको समीक्षा समय आएपछि गरौँला,” उनले भने ।
पूर्वमन्त्री महासेठले मधेश प्रदेशले वर्तमान सरकारलाई ३२ मध्ये ३० सिट जिताएर बलियो जनादेश दिएको स्मरण गराउँदै सरकारले त्यही जनतामाथि करको भार थपेको आरोप लगाए ।
उनले मधेश प्रदेश गरिबी, अशिक्षा, बेरोजगारी तथा स्वास्थ्य सेवाको पहुँचजस्ता आधारभूत समस्यासँग जुधिरहेको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्नुको सट्टा सरकारले कर बढाएर जनतालाई थप दुःख दिएको बताए ।
“जनताको पीडा नसुन्ने, उनीहरूलाई बेवास्ता गर्ने सरकारको आयु लामो हुँदैन । जनताले सरकारका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका छन्,” उनले भने ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष बजंगप्रसाद साह, ई. प्रकाशचन्द्र साह, निर्मलकुमार चौधरी, श्यामप्रसाद साहलगायतले व्यापार–व्यवसाय क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे धारणा राखेका थिए ।
वक्ताहरूले मुलुक आर्थिक मन्दीको चपेटामा परेको उल्लेख गर्दै व्यापार–व्यवसायको संरक्षण र प्रवद्र्धनमा सरकार गम्भीर नभए देशले अझ ठूलो आर्थिक संकट सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।



