काठमाडौं, १४ साउन । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारबीच बुधबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको भेटमा आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायले युगौँदेखि भोग्दै आएको विभेद, बहिष्करण र अन्यायप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सरकारलाई बुझाइएको सुझावपत्रबारे जानकारी गराए।
उनले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं. ५ मा दलित समुदायसँग राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने विषय समावेश गरिएकोप्रति आयोगको तर्फबाट आभार व्यक्त गरे।
आयोगले उक्त निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा आवश्यक सुझावहरू संसद्बाट पारित गराउन संसदीय तहबाट सकारात्मक भूमिका निर्वाह गर्न रास्वपासँग आग्रह गरेको छ।
भेटमा रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायको अधिकार, समानता र आत्मसम्मान सुनिश्चित गर्न राष्ट्रिय दलित आयोगले अघि सारेका सुधारमुखी सुझावहरूलाई संसद् तथा नीतिगत तहमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।



