जनकपुरधाम,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशमा विकसित पछिल्लो अवस्थाबारे मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी छलफलमा देशको वर्तमान परिस्थिति र त्यसको निकासका उपायबारे विचार–विमर्श भइरहेको छ।
लामिछानेको सचिवालयका अनुसार देशमा देखिएको पछिल्लो परिस्थितिको समाधान खोज्ने उद्देश्यले तराई–मधेशकेन्द्रित दलका नेताहरूसँग छलफल आयोजना गरिएको हो।
छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत मधेशकेन्द्रित विभिन्न दलका नेताहरू सहभागी छन्।
यसअघि लामिछानेले मधेश र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूसँग पनि छुट्टै छलफल गरेका थिए। उक्त बैठकमा उनले सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव कायम राख्न, नागरिकसँग संवाद बढाउन तथा शान्तिपूर्ण वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएका थिए।



