जनकपुरधाम, २२ साउन । साउन महिना सुरु भएसँगै जनकपुरधाममा हरियो चुरा र मेहदीको व्यापार उल्लेखनीय रूपमा बढेको छ। माग बढेसँगै चुरा र मेहदीको मूल्य पनि आकासिएको भए पनि पसलहरूमा महिला ग्राहकको भीड घटेको छैन।
स्थानीय उपभोक्ताका अनुसार केही साताअघिसम्म १० रुपैयाँमा पाइने मेहदी अहिले २० रुपैयाँमा बिक्री भइरहेको छ भने २० रुपैयाँ दर्जन पर्ने साधारण हरियो चुराको मूल्य गुणात्मक रूपमा बढेर १०० रुपैयाँसम्म पुगेको छ। मूल्यवृद्धिका बाबजुद विवाहित र अविवाहित युवतीहरू हरियो चुरा र मेहदी खरिद गर्न उत्साहित देखिएका छन्।
हिन्दु परम्पराअनुसार साउन महिनामा विवाहित महिलाले हरियो चुरा लगाउने र हातमा मेहदी रचाउने चलन छ। यसो गर्दा श्रीमानको दीर्घायु हुने विश्वास गरिन्छ। अविवाहित युवतीले हरियो चुरा र मेहदी लगाएमा योग्य जीवनसाथी प्राप्त हुने जनविश्वास पनि रहेको छ। यही धार्मिक तथा सांस्कृतिक मान्यताका कारण साउनभरि हरियो चुरा र मेहदीको माग बढ्ने गरेको व्यापारीहरू बताउँछन्।
जनकपुर उपमहानगरपालिका–१६ की व्रतालु सुधा कर्णका अनुसार भगवान शिवलाई प्रसन्न पार्न र मनोकामना पूरा हुने विश्वासका साथ महिलाहरूले हरियो चुरा, मेहदी र हरियो पहिरन प्रयोग गर्ने गरेका छन्। उनले माग बढेका बेला व्यापारीले चुराको मूल्य अनावश्यक रूपमा बढाएको गुनासो पनि गरिन्।
जानकी चुरी सेन्टरका व्यापारी हेमन्त साहका अनुसार जनकपुरधाममा ठूला–साना गरी करिब ५०० चुरा व्यवसायी छन्। साउन महिनामा उनीहरूले दैनिक १० लाख रुपैयाँभन्दा बढी मूल्यका चुरा र मेहदी बिक्री गर्ने गरेका छन्। अधिकांश चुरा पसलले मेहदीसमेत बिक्री गर्दै आएका छन्।
साउन महिनाभरि विशेषगरी सोमबार महिलाहरूले शिवमन्दिरमा जल चढाई व्रत बस्ने परम्परा रहेको छ। पछिल्ला वर्षहरूमा यो चलन हिन्दु समुदायमा मात्र सीमित नरही अन्य समुदायका महिलामाझ पनि लोकप्रिय बन्दै गएको स्थानीयहरू बताउँछन्।
व्यापारीहरूका अनुसार समग्र बजारमा आर्थिक मन्दीको प्रभाव रहे पनि साउन महिनामा हरियो चुरा र मेहदीको व्यापार बढ्दा व्यवसायमा केही राहत मिलेको छ।



