जनकपुरधाम, ८ भदौ । हरेक बालबालिकाको सर्वाङ्गीण विकास, अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन सुनिश्चित गर्ने उद्देश्यले जनकपुरधाममा सोमबार प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, बालबालिकामैत्री बजेट सञ्चालन तथा व्यवस्थापन कार्यविधि र राष्ट्रिय बालबालिका नीति–२०८० का विषयमा छलफल तथा मस्यौदा प्रस्तुत गरिएको हो ।
संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना र मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा नीति आयोग मधेश प्रदेशका सदस्य नवल यादवले बालविवाह तथा बालअधिकार सुनिश्चित गर्न कानून निर्माणसँगै प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
“कानून कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको हो । राज्यले कानून निर्माण गर्ने र सबैले त्यसको पालना गरे मात्र लक्ष्य हासिल गर्न सकिन्छ,” उनले भने ।
कार्यक्रममा संघीय मन्त्रालयका निर्मल कुमार राईले राष्ट्रिय बालबालिका नीति–२०८० को मस्यौदा प्रस्तुत गर्दै नीतिले बालबालिकाको अधिकार, संरक्षण, विकास र सहभागितालाई प्राथमिकता दिएको बताए । २०६९ को नीतिलाई पुनरावलोकन गरी संघीय शासन प्रणालीअनुकूल नयाँ नीति ल्याइएको उनको भनाइ थियो ।
नीतिले बालबालिकाको गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण तथा विकासका अवसर सुनिश्चित गर्ने, बालश्रम, बालविवाह, हिंसा, यौन शोषण, बेचबिखन तथा दुव्र्यवहारबाट संरक्षण गर्ने व्यवस्था गरेको छ । साथै बालबालिकासँग सम्बन्धित निर्णयमा उनीहरूको विचार र सहभागितालाई सम्मान गर्दै सर्वोत्तम हितलाई प्रमुख आधार मानिएको छ ।
जात, लिङ्ग, आर्थिक अवस्था, अपाङ्गता वा भौगोलिक क्षेत्रका आधारमा भेदभाव नगरी समान अधिकार र अवसर सुनिश्चित गर्ने तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमार्फत बालअधिकार संरक्षण र प्रवद्र्धन गर्ने नीतिको उद्देश्य रहेको राईले बताए ।

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन सुरक्षा, साइबर जोखिम र डिजिटल दुव्र्यवहार नियन्त्रणलाई समेत नीतिले प्राथमिकतामा राखेको छ । बालविवाह अन्त्य, बालमैत्री सार्वजनिक संरचना र बालबालिकासम्बन्धी तथ्यांक व्यवस्थापनमा पनि जोड दिइएको छ ।
सबल नेपाल, सेभ द चिल्ड्रेन र सिविन नेपालको आर्थिक सहयोग भएको सो कार्यक्रममा मधेशका आठवटै जिल्लामा बालअधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिले सुझाव तथा धारणा राखेका थिए । खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत समाज कल्याण महाशाखाकी प्रमुख निर्मला मिश्र, निरज चौधरी, सबल नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो ।




