जनकपुरधाम, १३ कात्तिक । भारतका चर्चित लोकगायिका विजया भारती र युवा पप, रक तथा सूफी गायक भव्य राज सांगीतिक प्रस्तुतिका लागि नेपाल आएका छन् । भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को आयोजनामा हुन लागेको ‘नेपाल सांस्कृतिक संगीत यात्रा–२०२६’ अन्तर्गत उनीहरूले नेपालका पाँच प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिनेछन् ।
भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई संगीतका माध्यमबाट थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त यात्रामा काठमाडौं, जनकपुर, वीरगञ्ज, विराटनगर र बुटवलमा कार्यक्रम तय गरिएको छ ।
जनकपुरधाममा भोलि शनिवारका दिन ‘नेपाल सांस्कृतिक संगीत यात्रा–२०२६’ हुने भएको जनाइएको छ ।
कार्यक्रमअनुसार अक्टोबर २९ मा काठमाडौंस्थित भारतीय दूतावासको सभाकक्षमा पहिलो प्रस्तुति हुनेछ । त्यसपछि अक्टोबर ३१ मा जनकपुरधाम, नोभेम्बर १ मा वीरगञ्ज, नोभेम्बर ३ मा विराटनगर र नोभेम्बर ५ मा बुटवलमा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ ।
लोकसंगीत र आधुनिक संगीतको संयोजन रहने प्रस्तुतिमा गायिका भारतीले भोजपुरी, मैथिली तथा अन्य भारतीय लोकपरम्परामा आधारित गीत प्रस्तुत गर्नेछिन् भने गायक भव्य राजले पप, रक र सूफी संगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।
नेपाल प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै गायिका विजया भारतीले जनकपुरसँग आफ्नो पारिवारिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताइन्। मुम्बईमा जन्मिए पनि आफ्नो परिवारको जरा बिहारमा रहेको र मातृपक्षको सम्बन्ध मिथिलाको जनक नगरीसँग जोडिएको उनले उल्लेख गरिन्।
‘मेरो जन्म मुम्बईमा भएको हो। परिवार बिहारको हो। मेरो कर्मभूमि दिल्ली, उत्तर प्रदेश हुँदै सिंगो भारत बनेको छ। तर मेरो माइती जनक नगरी मिथिलामा छ। आज त्यही राजा जनकको पवित्र भूमिमा आउन पाउनु मेरो सौभाग्य हो,’ उनले भनिन्।
जनकपुर धार्मिक नगरी मात्र नभई प्राचीनकालदेखि ज्ञान, दर्शन र शास्त्रार्थको महत्वपूर्ण केन्द्रसमेत रहेको भारतीको भनाइ छ। राजा जनकको दरबारमा ऋषिमुनिहरूबीच दार्शनिक विमर्श हुने गरेको ऐतिहासिक तथा पौराणिक प्रसंग उल्लेख गर्दै उनले गार्गी, याज्ञवल्क्य र अष्टावक्रजस्ता विद्वान्हरूको योगदानले मिथिलाको बौद्धिक परम्परालाई समृद्ध बनाएको बताइन् ।
भारत र नेपालबीचको सम्बन्धलाई उनले ‘दुई शरीर, एक प्राण’को संज्ञा दिइन् । माता सीता र भगवान् रामको विवाहले त्रेतायुगदेखि नै दुई देशबीच सांस्कृतिक सम्बन्धको आधार निर्माण गरेको उनको भनाइ थियो ।
भारतीले नेपाली संस्कृति, अतिथि सत्कार र धार्मिक परम्पराको प्रशंसा गर्दै मैथिली साहित्यका महाकवि विद्यापतिलाई पनि स्मरण गरिन् । विद्यापतिद्वारा रचित शिवस्तुति, नचारी र महेशवाणी नेपाल र भारतका मिथिला क्षेत्रमा आज पनि उत्तिकै श्रद्धाका साथ गाइने गरेको उनले बताइन् ।
नेपालमा बाढी तथा विपद् आउँदा भारतमा पनि त्यसको पीडा महसुस हुने उल्लेख गर्दै उनले दुवै देशबीचको सम्बन्ध राजनीतिक सीमाभन्दा माथि रहेको धारणा राखिन् । नेपाली कलाकारहरूले भारतीय कला तथा संगीत क्षेत्रमा पु¥याएको योगदानको पनि उनले प्रशंसा गरिन् ।
भारती भोजपुरी तथा मैथिली लोकसंगीतकी स्थापित गायिका हुन्। सन् २००३ देखि भारतीय सांस्कृतिक सम्बन्ध परिषद्सँग आबद्ध रहेकी उनी आकाशवाणी तथा दूरदर्शनकी उच्च श्रेणीकी कलाकारसमेत हुन्। चार दशकदेखि लोकसंगीतको संरक्षण र प्रवद्र्धनमा सक्रिय उनले विभिन्न देशमा सांगीतिक प्रस्तुति दिइसकेकी छन्। उनका ११ वटा पुस्तक प्रकाशित छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा डेढ सयभन्दा बढी सम्मान प्राप्त गरेको आयोजकले जनाएको छ ।
त्यस्तै, भव्य राज पप, रक र सूफी संगीतमा सक्रिय युवा गायक हुन् । उनले भारतका विभिन्न विश्वविद्यालय, सांस्कृतिक महोत्सव तथा अन्तर्राष्ट्रिय ब्रान्डका कार्यक्रममा प्रस्तुति दिइसकेका छन्। एमटीभी इन्डिज, रेडियो वन, फिभर एफएम र दूरदर्शनमा समेत उनको प्रस्तुति प्रसारण भएको छ ।
सांगीतिक टोलीमा शशिभूषण झा, गौरव, अमित र सुमितकुमार पनि सहभागी छन् ।
आयोजकका अनुसार यो सांगीतिक यात्रा भारत र नेपालबीचको साझा सांस्कृतिक सम्पदा, लोकपरम्परा र आपसी आत्मीयतालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले आयोजना गरिएको हो । विशेषगरी जनकपुरजस्तो मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक केन्द्रमा हुने प्रस्तुतिले दुवै देशका मैथिलीभाषी समुदायबीचको सांस्कृतिक सम्बन्धलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।



