जनकपुरधाम, १३ कात्तिक । धनुषामा धानबालीमा विभिन्न रोगको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ। कृषि ज्ञान केन्द्र धनुषाका अनुसार जिल्लामा लगाइएको धानबालीमध्ये पाँच प्रतिशतभन्दा बढीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीपकुमार यादवका अनुसार यस वर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको छ। अहिले धानबालीमा विभिन्न रोग तथा किराको प्रकोप देखिन थालेको उहाँले बताउनुभयो। रोगको सङ्क्रमण देखिएका क्षेत्रमा किसानलाई प्राविधिक सेवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ।
धानबालीमा मुख्यगरी राइस ब्लास्ट, ब्राउन लिफ, ब्लास्ट र सिथ ब्लाइटलगायतका रोगको सङ्क्रमण देखिएको छ। यी रोगबाट विशेषगरी सोना मन्सुली धान बढी प्रभावित भएको बताइएको छ।
नेपाल सरकारबाट मान्यता प्राप्त नभएको भारतीय जातको सोना मन्सुली धान बढी उत्पादन दिने भएकाले धनुषाका करिब ५० प्रतिशत किसानले यसको खेती गर्दै आएका छन्।
धनुषामा ४३ हजार सात हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकोमा यस वर्ष किसानले ४० हजार ५१५ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपेका छन्।
धानको पातमा असामान्य दाग देखिनु, पात तथा बोट सुक्दै जानु र बालीको वृद्धि रोकिनुजस्ता लक्षण देखिएकाले यस वर्ष धान उत्पादन घट्न सक्ने कृषि क्षेत्रका विज्ञहरूको अनुमान छ।



