जनकपुरधाम, २१ असार । नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री विमलेन्द्र निधिले जनकपुरधाममा निर्माणाधीन राजर्षि विश्वविद्यालयको केन्द्रीय प्रशासकीय भवनमा अवरोध पुर्याउने मुख्य पात्र एमालेका दुई सांसद भएको आरोप लगाएका छन्।
शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नं. ३ र ४ बाट निर्वाचित एमाले सांसद जुली कुमारी महतो र रघुवीर महासेठको नाम नलिईकन संकेत गर्दै उनीहरूले राजनीतिक प्रतिशोधका कारण विश्वविद्यालयको भवन निर्माणमा अवरोध गरिरहेको बताए।
“राजर्षि विश्वविद्यालयको भवन निर्माणका लागि आठ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। तर, राजनीतिक दुर्भावनाका कारण कार्यान्वयनमा अवरोध भइरहेको छ,” निधिले भने, “नगराइन नगरपालिकाको फलगामा अवस्थित मणियारी उपयुक्त स्थान हो। त्यहीँ भवन बने मधेश प्रदेशको शैक्षिक प्रतिष्ठा बढ्नेछ।”
उनले आफूले वर्षौंदेखि राजर्षि विश्वविद्यालय स्थापनाका लागि संघर्ष गरेको उल्लेख गर्दै, विगतमा पनि एमालेका केही नेताहरू यस विश्वविद्यालयको स्थापनाविरुद्ध रहेको दाबी गरे। “त्यसबेला रामचन्द्र झाजस्ता नेताहरू खुल्ला विरोधमा थिए, अहिले क्षेत्र नं. ३ र ४ का वर्तमान सांसदहरू विरोध गर्दैछन्,” निधिले भने।
उनले विकासका विषयमा राजनीति गर्नु अनुचित भएको जनाउँदै पत्रकारहरूमार्फत सकारात्मक धारणा प्रवाह गर्न आग्रह गरे।
नेता निधिले स्मरण गरे कि विश्वविद्यालय स्थापनाका प्रारम्भिक चरणमा धनुषा र महोत्तरीका प्रत्येक गाविसबाट एक लाख रुपैयाँ संकलन गरिएको थियो। अहिले विश्वविद्यालय स्थापनाभइसकेको र त्यसको सञ्चालनमा जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका, प्रदेश सरकार र संघ सरकार सबैको सकारात्मक भूमिका रहेको उनले बताए।
उनका अनुसार राजर्षि विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय वा नेपाल संस्कृत विश्वविद्यालयको अधीनमा नभई स्वतन्त्र रूपमा स्थापना भएको उच्च शैक्षिक संस्था हो। त्यसैले यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पारे।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, प्रदेश सांसद रामसरोज यादवलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।



