जनकपुरधाम, १७ साउन । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले शैक्षिक सत्र २०८१ मा जम्मा रु. २२ करोड ८८ लाख ६६ हजार मूल्य बराबरका १७ लाख ७० हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ।
प्रादेशिक प्रमुख रुद्र खनालका अनुसार, मधेश प्रदेश अन्तर्गत पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, उदयपुर, सिन्धुली, खोटाङ र ओखलढुंगाका ८६ सूचीकृत बिक्रेतामार्फत सम्बन्धित ठाउँमा समयमै पाठ्यपुस्तक वितरण गरिएको हो। वितरण व्यवस्थापन प्रभावकारी हुँदा शैक्षिक सत्र प्रारम्भ हुनुअघि नै विद्यार्थीहरूले पुस्तक प्राप्त गरेका थिए।
यस कार्यबाट झण्डै ४ लाख विद्यार्थीहरू लाभान्वित भएको जनाइएको छ। विशेषगरी कक्षा ३ देखि ५ र १२ सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पाठ्यपुस्तक पाउने सुनिश्चितता कायम भएको जनाइएको छ।
शिक्षालाई मौलिक हकको रूपमा नेपालको संविधानले प्रत्याभूत गरेअनुसार, राज्यले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसअनुसार जनक शिक्षा सामग्री केन्द्रले सम्बन्धित जिल्लामा पुस्तक वितरणलाई प्राथमिकताका साथ सम्पन्न गरेको हो।
यद्यपि कतिपय विद्यालयहरूले भने निःशुल्क वितरण हुनुपर्ने पाठ्यपुस्तकमाथि अभिभावकबाट पैसा लिने, पुराना पुस्तक वितरण गर्नेजस्ता गुनासा प्राप्त भइरहेका छन्। केही पीडित अभिभावकहरूका अनुसार नयाँ पुस्तकको नाममा पुराना पुस्तक दिइने, रकम लिने लगायतका गतिविधि अझै पनि देखिएका छन्।
पाठ्यपुस्तक वितरण प्रणालीमा बिक्रेता विद्यालयमा पुस्तक पुर्याउने र विद्यालयले सम्बन्धित पालिकामार्फत भुक्तानी लिने व्यवस्थाले पारदर्शितामा सुधार भए पनि निगरानी अझ कडा बनाउनु पर्ने आवश्यकता देखिएको छ।
यसैबीच, सो कार्यालयका लेखा प्रमुख रमेश यादवले शैक्षिक सत्र २०८१ मा मात्रै रु. २१ करोड ५९ लाख मूल्य बराबरका १६ लाख ५४ हजार थान पाठ्यपुस्तक बिक्री गरिएको जानकारी दिए।
शिक्षाको गुणस्तर वृद्धिमा पाठ्यपुस्तकको समयमै आपूर्तिले सकारात्मक प्रभाव पार्ने प्रक्षेपण गरिएको छ। तर, वितरणको अन्तिम चरणसम्म निगरानी तथा अभिभावकहरूको गुनासोलाई सम्बोधन नगरेसम्म ‘निःशुल्क शिक्षाको उद्देश्य’ अपूर्ण नै रहने सरोकारवालाहरूको टिप्पणी रहेको छ ।

