अंकिता यादव (काल्पनिक नाम) ले बुझ्नै सकिरहेकी थिइनन्— आखिर किन उनको शरीरमा दिनप्रतिदिन बोसो बढ्दै गइरहेको छ?
डाइटिङ र व्यायामको निरन्तर प्रयासका बाबजुद उनको तौल घट्ने साटो बढिरह्यो। सुरुमा डाक्टरहरूले यसलाई सामान्य मोटोपन ठाने, तर केही वर्षपछि मात्र पत्ता लाग्यो कि उनलाई ‘लिपेडिमा’ भन्ने विशेष प्रकारको रोग छ, जुन प्रायः महिलामा देखिन्छ।
यो केवल अंकिताको कथा मात्र होइन। संसारभर लाखौँ महिला यो रोगसँग लडिरहेका छन्, तर धेरैलाई थाहा नै हुँदैन— उनीहरूको शरीरमा के भइरहेको छ। लिपेडिमा महिलाका लागि केवल शारीरिक चुनौती मात्र नभई मानसिक अवसाद, आत्मविश्वासको कमी र सामाजिक हीनभावनाको कारण पनि बन्न सक्छ।
लिपेडिमा के हो?
लिपेडिमा एक दीर्घकालीन (क्रोनिक) र क्रमशः बढ्दै जाने रोग हो। यसमा शरीरको तल्लो भाग— विशेषगरी कम्मर, जाँघ, खुट्टा, र कहिलेकाहीँ बाहुलामा— अस्वाभाविक रूपमा बोसो जम्मा हुन्छ।
यो सामान्य मोटोपन मात्र होइन, किनकि लिपेडिमामा वसा समान रूपमा वितरण हुँदैन। शरीरको माथिल्लो भाग सामान्य देखिए पनि तल्लो भाग अस्वाभाविक रूपमा ठूलो र भारी हुन्छ।
दिल्लीको गुरु तेगबहादुर अस्पतालको मेडिसिन विभागकी निर्देशक प्रा. डा. अल्पना रायजादाका अनुसार—
“लिपेडिमालाई प्रायः मोटोपन भनेर बुझिन्छ, तर यो सामान्य बॉडी मास इंडेक्स भएकी महिलामा पनि देखिन सक्छ। यसलाई साधारण मोटोपन, लिंफेडिमा वा अन्य अवस्थासँग भ्रम गर्न सजिलो हुन्छ।”
सम्भावित कारणहरू
यसको ठ्याक्कै कारण अझै स्पष्ट छैन, तर चिकित्सकीय अध्ययन अनुसार सम्भावित कारण यस्ता छन्—
- हर्मोनल प्रभाव — विशेषगरी इस्ट्रोजेन हर्मोनको उतार–चढावसँग सम्बन्धित।
- वंशानुगत कारण — परिवारमा यसै समस्या भएको इतिहास भए सम्भावना बढी हुन्छ।
- जीवनका संवेदनशील चरणहरू — किशोरावस्था, गर्भावस्था र रजोनिवृत्तिमा सुरु हुने सम्भावना।
मुख्य लक्षणहरू
- तल्लो शरीर (कम्मर, जाँघ, खुट्टा) अस्वाभाविक रूपमा ठूलो हुनु।
- माथिल्लो भाग सामान्य भए पनि तल्लो भागमा मात्र बोसो बढ्नु।
- छालामुनि वसा नरम तर पीडादायी हुनु।
- सानो चोटपटकले पनि नीलडाम पर्नु।
- लामो समय उभिँदा वा हिँड्दा भारीपन र दुखाइ महसुस हुनु।
- डाइटिङ वा व्यायाम गर्दा पनि प्रभावित भागको आकार नघट्नु।
- कहिलेकाहीँ खुट्टा टोकिएको वा सुन्निएको जस्तो लाग्नु।
लिपेडिमाका चरणहरू
- पहिलो चरण — छालाको सतह सामान्य तर वसा नरम हुन्छ, हल्का भारीपन महसुस।
- दोस्रो चरण — छालामा असमान सतह (गाँठा वा लहरिया जस्तो), दुखाइ र नीलडाम बढ्नु।
- तेस्रो चरण — वसा अत्यधिक बढेर छालामा फोल्ड बन्नु, हिँडडुलमा असर।
- चौथो चरण (लिम्फेडिमासहित) — सुन्निनु र छालामुनि तरल पदार्थ जम्नु।
उपचार र व्यवस्थापन
हाल लिपेडिमाको पूर्ण उपचार गर्ने औषधि छैन, तर लक्षण नियन्त्रण र जीवनस्तर सुधारका उपायहरू अपनाउन सकिन्छ—
- कम्प्रेशन थेरापी — विशेष प्रकारका कम्प्रेशन गार्मेन्ट लगाउने।
- म्यानुअल लिंफ ड्रेनेज मसाज — सूजन कम गर्न सहयोगी।
- लो–इम्प्याक्ट व्यायाम — पौडी, साइकलिङ, पैदल हिँडाइ।
- सन्तुलित आहार — कार्बोहाइड्रेट कम, प्रोटिन र फाइबरयुक्त आहार।
- सर्जिकल विकल्प — विशेष प्रकारको लिपोसक्शन (वाटर–असिस्टेड वा ट्युमेसन्ट)।
- मानसिक स्वास्थ्य सहयोग — काउन्सेलिङ र सपोर्ट ग्रुपमा सहभागिता।
लिपेडिमा प्रायः नजरअन्दाज हुने र गलत पहिचान हुने रोग हो। यसको प्रारम्भिक चरणमै पहिचान र उचित व्यवस्थापन भएमा जीवनस्तर सुधार गर्न सकिन्छ।
महिलामा यो हर्मोन, वंशानुगत कारण र जीवनका संवेदनशील चरणसँग सम्बन्धित भएकाले यसबारे सचेतना बढाउनु अत्यावश्यक छ।
सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले यसलाई अलग रोगको रूपमा मान्यता दिएको भए पनि अझै जनस्तरमा यसको जानकारी सीमित छ।
त्यसैले, यदि तल्लो भागको बोसो डाइटिङ वा व्यायामले घटेको छैन भने तत्काल चिकित्सकसँग परामर्श लिनु बुद्धिमानी हुनेछ।
बीबीसी÷हिन्दी डटकमबाट



