जगदीश यादव
जनकपुरधाम । राजयोगिनी प्रकाशमणी दादीको १८औँ पुण्यतिथिमा यहाँ र विश्वभरि विशेष ‘रक्तदान’ कार्यक्रम आयोजना गरियो । विश्व रिकर्ड कायम गर्नका लागि तीन दिनमा सय घण्टामा एक लाख युनिट अर्थात् एकलाख ‘पोका’ रक्त संकलन गर्नु थियो । दुई दिनमै लक्ष्य पूरा भइसकेपछि यस कार्यक्रमलाई ‘विश्व बन्धुत्व दिवस’को रुपमा पनि मनाइएको छ । रक्तदान केवल अरुको जीवन जोगाउने माध्यम मात्र नभई स्वयं स्वास्थ्य र मानसिक सन्तुलनका लागि पनि लाभदायी हुन्छ । यही संदेश दादीले आफ्नो जीवनमार्फत संसारलाई दिइन—सिर्फ एक राष्ट्रको लागि होइन, सम्पूर्ण मानवजगतका लागि ।
मधेश प्रदेशका स्वास्थ्य मन्त्रीदेखि लिएर बौद्धिक वर्गसम्मका व्यक्तिहरू यस अवसरमा रक्तदानमा सहभागी भए । यसले दादीको मानवसेवा र सामाजिक चेतनालाई सम्मान गर्ने मात्र नभई जीवनमा सक्रिय सहभागिता देखाउने अवसर पनि प्रदान ग¥यो ।

राजयोगिनी प्रकाशमणी दादी केवल ब्रह्माकुमारी संस्थाकी नेत्री मात्र थिइन् भन्ने सीमामा सीमित छैनन्; उनी आध्यात्मिक जीवन, मानवसेवा र महिला नेतृत्वको सजीव प्रतीक थिइन्। सन् १९२० मा सिन्ध क्षेत्रमा जन्मिएका दादी बाल्यकालदेखि धर्म, अध्यात्म र सेवा भावमा गहिरो आकर्षित भइन्। त्यतिबेला समाजमा महिलाको भूमिका प्रायः घर–परिवारमा सीमित थियो, तर प्रकाशमणी दादीले प्रारम्भिक जीवनमै भिन्न मार्ग रोजिन—ध्यान, अनुशासन र मानवसेवा उनको पहिलो शिक्षक बने।
उनको प्रारम्भिक जीवन साधारण थियो, तर परिवारले धार्मिक शिक्षाको महत्त्व दिन्थ्यो। बाल्यकालदेखि नै उनले आत्मनिरीक्षण र ध्यानमा रुचि राखिन्। प्रकृतिप्रेमी दादी प्रकृतिसँगको सम्बन्धमार्फत जीवनका गहिरा मूल्य बुझ्न खोज्थिन्। यी अनुभवहरूले उनको आध्यात्मिक यात्रा स्थिर बनायो र ब्रह्माकुमारी संस्थासँग उनको सम्बन्धको आधार तयार भयो।
सन् १९३७ मा ब्रह्माकुमारी संस्थाको स्थापना (त्यतिबेला ओम मण्डली) भएतापनि प्रकाशमणी दादी प्रारम्भिक अनुयायीमध्ये एक बनिन्। संस्थापक ब्रह्मा बाबाको शिक्षालाई आत्मसात गर्दै उनले आफ्नो सम्पूर्ण ऊर्जा आध्यात्मिक उन्नति र मानवसेवामा समर्पित गरिन्। महिला नेतृत्व सीमित र सामाजिक परम्परासँग संघर्षरत समयमा पनि उनले पूर्ण रूपमा आध्यात्मिक नेतृत्व रोजिन्। यही जीवनशैली र अनुशासनले उनलाई ‘राजयोगिनी’ को पदवी दिलायो।
उनको नेतृत्व संस्थाभित्र मात्र सीमित थिएन। दादीले विश्वव्यापी शान्ति, महिला सशक्तीकरण, पर्यावरणीय सन्तुलन र आत्मशुद्धिको संदेश फैलाउने अभियान अघि बढाइन्। उनका नेतृत्वमा १३० भन्दा बढी देशमा राजयोग केन्द्र स्थापना भए। उनले ब्रह्माकुमारी संस्थालाई संयुक्त राष्ट्र संघमा दर्ता गराइन् र विश्वशान्तिका लागि योगदानको मान्यता दिलाइन्। उनका प्रयासले लाखौँ मानिसलाई राजयोग र ध्यानको अभ्यास गर्ने अवसर प्राप्त गरायो।
प्रकाशमणी दादीको जीवन दर्शन सरल तर गहिरो थियोः “आफूलाई जान, परमात्मालाई मान, अरूलाई सम्मान।” उनले सेवा केवल सामाजिक कर्तव्यको रूपमा नभई जीवनको वास्तविक उद्देश्यको रूपमा देखिन्। गरिब, असहाय र संकटमा परेका मानिससँग निरन्तर सहकार्य गरिन्। उनी भेट्ने प्रत्येक व्यक्तिमा शान्ति, सकारात्मक ऊर्जा र आत्मविश्वास प्रवाहित गर्न सक्षम थिइन्।
उनको योगदान केवल स्थानीय वा राष्ट्रिय स्तरमा सीमित छैन। भारत, नेपाल र विश्वका विभिन्न देशमा ब्रह्माकुमारी संस्थाले उनका सन्देश र शिक्षालाई जीवन्त राखेको छ। हजारौं महिलाले उनको नेतृत्वबाट प्रेरित भइ आत्मनिर्भर र समाज–सक्रिय बन्न पाए। उनलाई “शान्तिदूत” को रूपमा सम्मानित गरियो, र उनका विचारले आज पनि करोडौं मानिसलाई प्रेरित गरिरहेका छन्।
दादीको जीवनले देखाउँछ कि आध्यात्मिक नेतृत्व केवल ध्यान वा पूजा मात्र होइन; यो जीवनलाई सेवा, संयम, प्रेम र सहिष्णुतामा रूपान्तरण गर्ने अभ्यास हो। उनी भन्थिन्—सामाजिक वा आध्यात्मिक परिवर्तन महिलाको सक्रिय भागीदारी बिना सम्भव छैन। यही कारणले उनका दृष्टान्तले आजको महिलालाई आत्मविश्वासी, सक्षम र नेतृत्वपूर्ण बन्न प्रोत्साहित गर्छ।
उनले विश्वव्यापी स्तरमा ब्रह्माकुमारी संस्थालाई प्रतिष्ठित बनाउँदै राजयोगको संदेश फैलाइन्। उनका विचार सरल, व्यवहारिक र हृदयस्पर्शी थिए। उनी विश्वास गर्थिन्—हरेक मानिसले आफ्नो जीवनमा शान्ति, प्रेम र सद्भावना कायम राखे संसारमा सकारात्मक परिवर्तन सम्भव छ।
प्रकाशमणी दादीले महिला नेतृत्वको महत्वलाई बलियो बनाइन्। उनी भन्थिन्, “सत्य र सेवा मार्गमा दृढता राख्ने महिला संसारमा परिवर्तन ल्याउन सक्छ।” उनका शिक्षाहरू आज पनि लाखौं महिलाका लागि प्रेरणाको स्रोत बनेका छन्।
उनको अन्तिम जीवन सन् २००७ मा ८७ वर्षमा समाप्त भयो, तर उनका दर्शन, शिक्षाहरू र योगदान सदा जीवित छन्। उनी केवल धार्मिक नेत्री होइनन्; उनी आध्यात्मिक चेतना, मानवताको सेवा र विश्वशान्तिको प्रतिमूर्ति हुन्। उनको दृष्टिकोण र जीवनशैलीले हामीलाई सधैं सम्झाउँछ—जीवन केवल आफूका लागि होइन, सम्पूर्ण मानवजाति र विश्वको भलाइका लागि हो।



