जनकपुरधाम ३ असोज । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३, गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले फेला पारेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले आज दिउँसो उक्त गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा गोबराहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाइ–छिपाई राखिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एसएसपी अशोक बमले जानकारी दिएका छन् ।

