काठमाडौं १४ असोज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारलाई राजनीतिक प्रतिशोधपूर्ण गतिविधि नगर्न चेतावनी दिएको छ ।
संघका अध्यक्ष क्षितिज थेवेले जारी गरेको प्रेस विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि देखिएको प्रतिशोध स्वीकार्य नहुने स्पष्ट चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय युवा संघ स्थापना कालदेखि नै लोकतन्त्र, बहुदलीय व्यवस्था र जनहितको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । संगठनले राष्ट्रको दीर्घकालीन हित र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न बलिदान र संघर्षको बाटो रोज्दै आएको स्मरण गराइएको छ ।
संविधानले प्रत्याभूत गरेको पूर्वाग्रह र प्रतिशोधरहित जीवनयापन गर्ने मौलिक अधिकारको रक्षा गर्दै आएको संघले हालैको घटनासम्बन्धी जाँचबुझ आयोगको निर्णयलाई अन्यायपूर्ण बताएको छ । आयोगले गत भदौ २३–२४ को घटनामा बिना पर्याप्त आधार र प्रमाण, प्रारम्भिक चरणमै राहदानी रोक्का गर्ने निर्णय गरेको भन्दै संघले गम्भीर चासो र आपत्ति प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामी निष्पक्ष छानबिनको पक्षमा छौं, तर छानबिन नै नगरी अपराधी करार गर्ने शैलीमा गरिएको निर्णय आपत्तिजनक छ ।”
पूर्वप्रधानमन्त्री ओलीले सम्पूर्ण जीवन देशकै लागि समर्पण गरेको, सम्पत्ति राज्यलाई हस्तान्तरण गरिसकेको र मुलुक नछोड्ने प्रतिज्ञा गरिसकेको व्यक्तित्वलाई राहदानी रोक्का गर्ने निर्णय प्रतिशोधपूर्ण र अराजनीतिक भएको संघको ठहर छ ।
त्यस्तै, एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका पूर्व इन्चार्ज महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्वक मुद्दा चलाउने तयारी भइरहेको समाचारप्रति संघले आपत्ति जनाउँदै सरकारलाई सचेत गराएको छ ।
संघले भनेको छ, “यस प्रकारका प्रतिशोधपूर्ण गतिविधिमा सरकारलाई अग्रसर नहुन जोडदार माग गर्दछौं । यस्ता क्रियाकलाप वर्तमान सरकारकै लागि प्रत्युत्पादक हुने चेतावनी दिन चाहन्छौं ।”
यसका साथै, गृह मन्त्रालयले भदौ २४ गतेको विध्वंसकारी गतिविधिमा संलग्नलाई नियमित कानूनी प्रक्रिया अन्तर्गत कारबाही नगर्ने निर्णय गरेकोप्रति संघले कडा आपत्ति जनाएको छ । संघका अनुसार यस्तो निर्णयले दण्डहीनतालाई प्रश्रय दिने र कानूनी राज्यको उपहास गर्ने खतरा छ, त्यसैले तत्काल सच्याउनुपर्ने माग गरिएको छ ।
विज्ञप्तिमा संघले जेन–जेड आन्दोलनसहित युवाले उठाएका मागप्रति आफ्नो ऐक्यबद्धता पुनः व्यक्त गर्दै वर्तमान सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु नै भएको स्पष्ट पारेको छ ।
संघले भनिएको छ, “हामी सरकारलाई उक्त महत्त्वपूर्ण जिम्मेवारीमा सफल बनाउन प्रतिबद्ध छौं । तर सरकार अनावश्यक रूपमा राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा तानिँदै गएको आभास पाएको छ ।”
अन्त्यमा संघले सरकारलाई पुनः सचेत गराउँदै भनेको छ, “फागुन २१ गतेको आम निर्वाचन गराउने आफ्नो मूल जिम्मेवारीमा केन्द्रित रहनुहोस्, प्रतिशोधको गलत बाटोमा नलाग्नुहोस् ।”

