जनकपुरधाम,१७ माघ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान), धनुषाको आयोजनामा सञ्चालित निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न भई सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
जनकपुरधाममा शनिवार आयोजित प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले यहाँबाट तालिम प्राप्त विद्यार्थीहरुलाई जीविकोपार्जनमा ल्याउन आग्रह गरेका छन् ।
उहाँले प्रविधि र सूचना प्रवाहको यो युगमा कम्प्युटर साक्षरताले युवाको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारीका अवसरहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्तै विशिष्ट अतिथि प्रविण शाहले समाजमा डिजिटल पहुँच विस्तार गर्न यस्ता निशुल्क तालिम कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

क्यानका धनुषा अध्यक्ष विनय साहको अध्यक्षतामा भएको प्रमाण वितरण कार्यक्रममा जनकपुर जेसीजका पूर्व अध्यक्ष मनोज शाह, क्यानका धनुषा संस्थापक अध्यक्ष प्रविण शाह सहितले आफ्ना विचार राखेका छन् ।
क्यान महासंघ धनुषाका अधयक्ष साहले आगामी दिनमा पनि सीपमूलक तथा प्रविधिमैत्री तालिमहरू सञ्चालन गर्दै युवालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



