जनकपुरधाम, २१ माघ । मधेश प्रदेशले आफ्नो आठौँ वार्षिकोत्सव समारोह हर्षोल्लासका साथ मनाएको छ ।
प्रदेश सभामुख रामअशिष यादवको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले अब नेपाली जनता विद्रोह होइन, विकास चाहेको स्पष्ट पारे । उनले भने, “नेपाली जनताले प्रतिनिधि छान्दा विद्रोहका लागि होइन, विकासका लागि छान्छन् । समृद्ध मधेश निर्माणका लागि जनताको मर्म र भावना अनुसार काम गर्नु आवश्यक छ ।”
समारोहलाई सम्बोधन गर्दै मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीयता अपरिहार्य भए पनि संघीयताको मर्म र भावना संघ सरकारले अझै नबुझेको गुनासो गरे । उनले देशका करिब ९८ प्रतिशत जनता संघीयताको पक्षमा रहेको उल्लेख गर्दै केही प्रतिशत असहमतिका नाममा संघीयतालाई कमजोर पार्ने प्रयास नगर्न आग्रह गरे ।
“संघीयतालाई बलियो बनाउन कर्मचारी प्रशासन र सुरक्षा निकाय प्रदेशको मातहतमा हुनुपर्छ,” मुख्यमन्त्री यादवले भने, “तर संघ सरकारले बजेट विनियोजन, कर्मचारी व्यवस्थापनलगायत विषयमा संघीयता विरोधी व्यवहार गरिरहेको छ । संघले समयमै व्यवस्थापन नगरे प्रदेश सरकारले आफैँ गर्न बाध्य हुनेछ ।”
मुख्यमन्त्री यादवले प्रदेश सरकार मधेशी जनताको भावना अनुसार कृषि उत्पादन, साना तथा घरेलु उद्योगमा लगानी बढाएर युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने प्रयासमा रहेको पनि बताए ।
पहाड क्षेत्रबाट बगेर आउने बालुवा र गिट्टीको उचित व्यवस्थापन नहुँदा ती सामग्री मधेशका नदी हुँदै भारततर्फ बग्ने गरेको उल्लेख गर्दै उनले भने, “वार्षिक करिब एक खर्ब रुपैयाँ बराबरको बालुवा(गिट्टी बगेर जान्छ । यसतर्फ गम्भीर ध्यान दिन जरुरी छ ।”

त्यस्तै, पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले संघीयता विरोधी गतिविधि गर्नेहरूविरुद्ध जनता अब चुप लागेर नबस्ने चेतावनी दिए । उनले भने, “केही दल र नेताहरू संघीयता समाप्त पार्ने षड्यन्त्रमा लागिरहेका छन् । यो गल्ती नगर्नुहोस्, नत्र यही निर्वाचनमा जनताले त्यसको परिणाम देखाउनेछन् ।”

उनले एमाले, कांग्रेस र माओवादीलाई नामै किटान गर्दै संघीयता विरोधी दलको संज्ञा दिए । तर, जनता सचेत भइसकेको र संघीयताविरुद्ध जानेहरूसँग जुध्न तयार रहेको उनको दाबी थियो ।
वार्षिकोत्सव समारोहमा प्रदेश सरकारको उपलब्धिभन्दा बढी राजनीति र संघमाथिको दोषारोपणमा मन्त्री, पूर्व मन्त्री तथा पूर्व मुख्यमन्त्रीहरूको समय खर्चिएको देखिएको थियो । अधिकांश वक्ताले आफ्ना कार्यप्रगति भन्दा पनि अरूमाथि दोषारोपण गर्न समय दिएका थिए ।

कार्यक्रममा पूर्व मन्त्रीद्वय सरोजकुमार यादव र सरोज यादव, मन्त्री मनिष सुमन, जंगीलाल यादव, जयनुल राइन, कनिष पटेल, बसन्त कुशवाहालगायतले आ(आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा यस वर्षको उत्कृष्ट सांसद नेपाली कांग्रेसका सचेतक रामसरोज यादवलाई घोषणा गरिएको थियो । साथै उत्कृष्ट कर्मचारी, खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने प्रदेशसभा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।




