जनकपुरधाम, ४ फागुन । गोदाममा स्थान अभाव भएको कारण देखाउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले बीचमै धान खरीद बन्द गरेपछि किसानहरू निजी गल्ला व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन् ।
दुई वर्षपछि संस्थानले धानको समर्थन मूल्य बढाएपछि किसानहरू सरकारी संस्थामार्फत धान बिक्री गर्न आकर्षित भएका थिए । तर गोदाम अभावको कारण देखाउँदै खरीद प्रक्रिया रोकिएपछि आफूहरू बाध्य भएर निजी व्यापारीलाई कम मूल्यमा धान बेच्नुपरेको महोत्तरीको सोनमाका किसान जयकिसुनले बताउनुभयो ।
चालु आर्थिक वर्षमा संस्थानले मंसिर २८ गतेदेखि संघीय सरकारले तोकेको समर्थन मूल्यअनुसार सोना मनसुली धान प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँमा खरीद सुरु गरेको थियो । उक्त मूल्य निजी क्षेत्रका गल्ला व्यापारीको खरीद मूल्यभन्दा प्रतिक्विन्टल २०० देखि ३०० रुपैयाँसम्म बढी थियो । यस वर्ष १३ हजार क्विन्टल सोना मनसुली धान खरीद गर्ने लक्ष्य लिएको कम्पनीले माघ २३ गतेसम्म ४ करोड २३ लाख ६२ हजार ५३० रुपैयाँ बराबरको ११ हजार ६७५.५० क्विन्टल धान खरीद गरेको निमित्त प्रादेशिक प्रमुख गंगाप्रसाद साहले जानकारी दिनुभयो ।संघीय सरकारले यस वर्ष कम्पनीलाई २ हजार क्विन्टल बासमती चामल खरीद गर्ने लक्ष्य दिए पनि खरीद दररेट निर्धारण नभएकाले हालसम्म सो चामल खरीद हुन सकेको छैन ।
कम्पनीले धनुषा र महोत्तरीका किसानबाट धान खरीद गर्दै आएको थियो । तर हाल गोदाम अभाव देखाउँदै खरीद कार्य रोकिएपछि किसानहरू कौडीको भाउमा निजी व्यापारीलाई धान बेच्न बाध्य भएको गुनासो गरिरहेका छन् । किसानहरूले यस विषयमा संघीय सरकारले पुनर्विचार गर्नुपर्ने माग गरेका छन् ।

