पर्सा, ११ फागुन । वीरगञ्ज महानगरपालिका–११ श्रीपुर–मुर्ली चोक क्षेत्रमा युवाका दुई समूहबीच विवाद भएपछि आइतबार रातिदेखि अवस्था तनावग्रस्त बनेको छ।
सामान्य विषयबाट सुरु भएको विवाद उग्र बन्दै दुवै पक्षबीच झडप र ढुंगामुढा भएपछि स्थानीय प्रशासनले सोमबार बिहानदेखि महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सवारी पार्किङको विषयमा युवाहरूबीच विवाद हुँदा केहीबेर तनाव सिर्जना भएको थियो। “ढुंगामुढा भएको थियो, अहिले अवस्था नियन्त्रणमा छ,” उनले बताए।

जिल्ला प्रशासन कार्यालय पर्सा ले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको छ। प्रशासनका अनुसार कर्फ्यु क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार कर्फ्यु अवधिभर भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सवारी साधन सञ्चालनसमेत निषेध गरिएको छ भने अत्यावश्यक सेवाबाहेक अन्य गतिविधि बन्द रहने जनाइएको छ।
घटनापछि ठूलो संख्यामा नेपाल प्रहरी, अन्य सुरक्षाकर्मी तथा नेपाली सेना परिचालन गरिएको थियो। सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि अवस्था नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
झडपमा केही युवा सामान्य घाइते भएको स्थानीयले बताएका छन्। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। क्षेत्रमा हाल सुरक्षा व्यवस्था कडा पारिएको छ।

