जनकपुरधाम, १५ फागुन । सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख शम्भुनाथ साह शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जनकपुरधाममा आयोजित कार्यक्रममा साहलाई कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले फुलमाला र गम्छा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस प्रवेशपछि प्रतिक्रिया दिँदै साहले जनमत पार्टी “आँधीबेहरीजस्तो आएर उस्तै गतिमा कमजोर भएको” टिप्पणी गर्दै मुलुकलाई स्थायित्व र नीतिगत दिशानिर्देश दिन सक्ने शक्ति कांग्रेस मात्र भएको दाबी गरे । देशको वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलको आवश्यकता महसुस गर्दै आफू कांग्रेसमा आबद्ध भएको उनले बताए ।
साहलाई स्वागत गर्दै नेता निधिले कांग्रेस समावेशी र विभेदरहित पार्टी भएको उल्लेख गर्दै नयाँ ऊर्जा र हौसलासहित अघि बढ्न आग्रह गरे । “तपाईंको मूल्यांकन सही छ । नेपाली कांग्रेसले कसैसँग विभेद गर्दैन । तपाईंको आगमनले हाम्रो मनोबल अझ बलियो भएको छ,” निधिले भने ।
शम्भुनाथ साह २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले आठ हजारभन्दा बढी मत प्राप्त गरेको बताइएको छ। कांग्रेसले साहको प्रवेशलाई मधेस क्षेत्रमा संगठन सुदृढीकरणको दृष्टिले महत्वपूर्ण रूपमा हेरेको छ ।

