जनकपुरधाम, २३ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको हालसम्म सार्वजनिक मतपरिणामले राष्टिूय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव उल्लेखनीय रूपमा बढेको देखाएको छ । विशेषगरी मधेश प्रदेशमा आएको परिणामले परम्परागत राजनीतिक दलहरू गम्भीर संकटमा परेको छ । उनीहरुको हालसम्म खाता पनि खुलेको छैन ।
मधेश प्रदेशका आठ जिल्लामा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिकांश स्थानमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन् वा अग्रता कायम गरेका छन् । हालसम्मको मतगणनाले नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेशकेन्द्रित दलहरूले मधेशका कुनै पनि जिल्लाको क्षेत्रमा अग्रता देखाएको छैन । धनुषा २ बाहेक ।
धनुषा जिल्लाको परिणामले पनि यही प्रवृत्ति पुष्टि गरेको छ । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट रास्वपाका उम्मेदवार मनिष झा विजयी भएका छन् । धनुषा(२ मा रामविनोद यादव अग्रता लिइरहेका छन् भने धनुषा(४ मा राजकिशोर महतो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै अग्रस्थानमा देखिएका छन्।
धनुषा(१ मा भने नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डल अग्रता लिइरहेका छन् । तर उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी रद्द भएपछि प्रतिस्पर्धाको समीकरण बदलिएको बताइएको छ ।
महोत्तरी जिल्लामा पनि रास्वपाको प्रभाव स्पष्ट देखिएको छ। महोत्तरी(१ बाट रास्वपाका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन्। महोत्तरी(२, ३ र ४ मा पनि रास्वपाकै उम्मेदवारहरू अग्रता कायम राखेका छन्।
सर्लाही जिल्लामा रास्वपाले झनै प्रभावशाली प्रदर्शन गरेको देखिन्छ। चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्। सर्लाही(४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई उल्लेखनीय मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन्।
सर्लाही(३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा छन्। सर्लाही(२ मा रबिन महतो अत्यधिक मतान्तरले अगाडि देखिएका छन् भने सर्लाही(१ मा रास्वपाकी उम्मेदवार नितिमा भण्डारी (कार्की)ले पनि कांग्रेसका शम्भुलाल श्रेष्ठलाई ठूलो मतान्तरले पछाडि पारेकी छन्।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरू अग्रतामा छन्। रौतहट(४ मा रास्वपाका उम्मेदवार गणेश पौडेलले नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन्।
बारा(३ मा रास्वपाका उम्मेदवार अरविन्द साह विजयी भएका छन् भने अन्य क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरू अग्रता लिइरहेका छन्। पर्सा(१ मा रास्वपाका उम्मेदवार बुद्धिबहादुर पन्तले नेकपा एमालेका प्रदीप यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै विजय हासिल गरेका छन्।
यसैगरी सिरहा र सप्तरी जिल्लामा पनि प्रारम्भिक मतपरिणामले रास्वपाको प्रभाव बलियो देखाएको छ। समग्र परिणामलाई हेर्दा मधेश प्रदेशका ३२ सिटमध्ये करिब ३० सिटमा रास्वपा विजयी हुने वा अग्रता कायम राख्ने सम्भावना देखिएको छ।
देशव्यापी रूपमा पनि रास्वपाको उभार उल्लेखनीय देखिएको छ। हालसम्म प्राप्त मतपरिणामअनुसार रास्वपाले देशभर ६० सिटमा विजय हासिल गरिसकेको छ भने ६५ सिटमा अग्रता कायम गरेको छ। प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्मको प्रवृत्तिअनुसार १२२ सिटमा रास्वपाको विजय सुनिश्चित हुने संकेत देखिएको छ। समानुपातिकतर्फ पनि रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरिरहेको प्रारम्भिक परिणामले देखाएको छ।
प्रतिनिधिसभामा सरकार गठन गर्न कम्तीमा १३८ सिट आवश्यक हुन्छ। तर हालसम्मको मतपरिणामलाई आधार मान्दा रास्वपा एक्लैले पनि सरकार गठन गर्न सक्ने सम्भावना बलियो बन्दै गएको छ।
मधेश प्रदेशको सन्दर्भमा यो परिणामले यहाँको परम्परागत राजनीतिक संरचनामा ठूलो परिवर्तनको संकेत गरेको छ। यदि यही प्रवृत्ति अन्तिम परिणामसम्म कायम रह्यो भने मधेशको राजनीति नयाँ मोडमा प्रवेश गर्ने निश्चित देखिन्छ। पुराना दलहरूका लागि यो परिणाम आत्मसमिक्षा गर्ने अवसरका रूपमा पनि हेरिएको छ।
मधेशमा लामो समयदेखि पहिचान, अधिकार र आन्दोलनको राजनीतिक मुद्दा उठाउँदै आएका दलहरू जनअपेक्षाअनुसार परिणाम दिन नसकेको असन्तोष मतदातामा बढ्दै गएको विश्लेषण गरिएको छ। यही असन्तोषका कारण मतदाताले नयाँ राजनीतिक विकल्पको खोजी गर्दै रास्वपातर्फ आकर्षित भएको देखिन्छ।
यसरी हेर्दा यो निर्वाचन परिणामले केवल सत्ता समीकरण मात्र होइन, मधेशको राजनीतिक दिशालाई नै पुनःपरिभाषित गर्ने संकेत दिएको छ।


