वीरेन्द्र कर्ण
जनकपुरधाम, २८ फागुन । पूर्वी धनुषाको लक्कड गाउँका ७० वर्षीय किसान अयोधी बिन आफ्नै बगैँचामा फुलेको आँपको मञ्जरी हेर्दै खुसीले दंग छन्। आँपका बोटहरूमा पातै ढाक्ने गरी लागेको फूलले यस वर्ष राम्रो उत्पादन हुने संकेत देखिएको भन्दै उनी जस्तै मधेशका हजारौँ किसान आशावादी बनेका छन्।
कृषि विकास निर्देशनालय, मधेश प्रदेशका विज्ञहरूका अनुसार चैत(बैशाख महिनामा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरेमा यस वर्ष मधेश प्रदेशमा आँप उत्पादन उल्लेख्य हुने सम्भावना छ। उनीहरूका अनुसार प्रदेशका आठवटै जिल्लामा यस वर्ष करिब ८० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ।
निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार यस वर्ष मधेश प्रदेशका किसानहरूले करिब ३० हजार ८ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरेका छन्। मौसम अनुकूल रहिरहेमा प्रदेशमा चार लाख मेटिूक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
मधेश प्रदेशका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन्। व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको तथ्यांक छ।
गत आर्थिक वर्षमा मधेश प्रदेशका किसानहरूले ३० हजार ६ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरेका थिए। त्यसबेला प्रदेशमा ३ लाख ९५ हजार ९ सय ६२ मेटिूक टन आँप उत्पादन भएको कृषि कार्यालयको तथ्यांकले देखाउँछ।
मधेशका किसानहरूले विशेषगरी मालदह, बम्बै, कलकत्तिया, अम्रपाली र दशहरी जातका आँपको खेती गर्दै आएका छन्। यहाँ उत्पादन हुने आँप स्थानीय बजारसँगै काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा पनि आपूर्ति हुने गरेको छ।
सामान्यतया आँपका बोटमा एक वर्ष राम्रो फल लागेपछि अर्को वर्ष उत्पादन घट्ने प्रवृत्ति देखिए पनि यस वर्ष भने बोटभरि लागेको मञ्जरीले किसानलाई उत्साहित बनाएको छ। बगैँचामा यति धेरै फूल देखिएपछि व्यापारीहरू समेत अहिले नै ठेक्का लिन गाउँगाउँ पुग्न थालेको किसानहरू बताउँछन्।
आँप खेतीबाट राम्रो आर्थिक आम्दानी हुन थालेपछि पछिल्ला वर्षहरूमा मधेशका किसानहरू यसतर्फ थप आकर्षित हुँदै गएका छन्। कृषि विज्ञहरूका अनुसार आधुनिक बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा ध्यान दिन सके मधेश प्रदेश आँप उत्पादनमा अझै ठूलो केन्द्र बन्न सक्ने सम्भावना रहेको छ।
यता, नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य रहेको छ। प्लान कार्यालय भिठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भारतबाट भिठामोड नाका हुँदै ३५९ मेटिूक टन आँप नेपाल भित्रिएको छ, जसको मूल्य करिब २ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।
हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको कृषि मन्त्रालयको तथ्यांक छ। उत्पादन र बजार व्यवस्थापनलाई व्यवस्थित गर्न सके मधेश प्रदेश नेपालको आँप अर्थतन्त्रको मुख्य आधार बन्ने सम्भावना विज्ञहरूले औँल्याएका छन्।

