काठमाडौं, ३ चैत । देशभर हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो विशेषगरी हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भेगका केही स्थान तथा अन्य हिमाली क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। साथै, ती प्रदेशका पहाडी भूभागमा पनि छिटफुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।
राति भने गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा राति पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।


