वीरेन्द्र कर्ण
जनकपुरधाम, ४ चैत । जनकपुरधाम भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको तुलनामा ३६.६३ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
संघीय सरकारले उक्त कार्यालयलाई चालु आर्थिक वर्षमा ५५ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा आठ महिनाको अवधिमा २२ करोड २२ लाख रुपैयाँ मात्र उठाउन सफल भएको हो ।
आर्थिक मन्दी, चोरी पैठारी तथा बजार चलायमान नहुनुजस्ता कारणले लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको कार्यालयका सूचना अधिकारी राजकुमार ज्ञावालीले बताउनुभयो। उहाँका अनुसार नेपाल(भारत खुला सीमाका कारण तस्करी मौलाउँदै गएको छ, जसले भन्सार राजस्वमा प्रत्यक्ष असर पारेको छ ।
गत आर्थिक वर्ष २०८१÷०८२ मा पनि सो कार्यालयलाई ५७ करोड ७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। तर, लक्ष्यको ४४.९७ प्रतिशत अर्थात् २५ करोड ६७ लाख रुपैयाँ मात्र संकलन भएको थियो।
चालु आर्थिक वर्षको आठ महिनामा कार्यालयले भन्सार तथा महसुलबाट ९ करोड ३३ लाख, कृषि सुधार शुल्कबाट ५ लाख ६० हजार, भन्सार सेवा दस्तुरबाट ९ लाख ६५ हजार, मूल्य अभिवृद्धि करबाट ९ करोड ९८ लाख ८५ हजार, हरित करबाट २ लाख १८ हजार तथा अन्य कर तथा शुल्कबाट ४ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
हाल अधिकांश छोटी भन्सार कार्यालयहरू बन्द रहे पनि जटही र इनर्वा छोटी भन्सार कार्यालय भने सञ्चालनमा रहेका छन्।
संघीय सरकारले जनकपुर(जयनगर रेलमार्फत सामान ढुवानी गर्न अनुमति दिएमा राजस्वमा उल्लेखनीय वृद्धि हुन सक्ने स्थानीयवासी मानबहादुर पौडेलले बताउनुभयो। उहाँले धनुषा जिल्लामा व्यापक रूपमा तस्करी भइरहेको र सीमामा खटिएका केही सुरक्षाकर्मीको इमानदारीमा प्रश्न उठेकाले एकातर्फ तस्करी बढेको र अर्कोतर्फ राजस्व लक्ष्य हासिल हुन नसकेको उल्लेख गर्नुभयो।
भारतको जयनगरबाट जनकपुरधाम आउने रेलमार्फत समेत तस्करीका सामान भित्रिने गरेको, रेल कर्मचारीहरूले सामान सिटमुनि लुकाएर ल्याउने गरेको आरोपसमेत उहाँले लगाउनुभयो, जसका कारण राजस्व संकलन प्रभावित भएको बताइएको छ।


