जनकपुरधाम, २४ चैत । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको सप्तरी जिल्लाको बरमझिया क्षेत्रको पेडा व्यवसाय हाल दूध अभावका कारण प्रभावित बन्दै गएको छ।
पेडा उत्पादनका लागि अति उपयुक्त मानिने भैँसीको दूध मागअनुसार उपलब्ध हुन नसक्दा यस व्यवसायमा प्रत्यक्ष असर परेको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियादेखि महादेवपट्टीसम्म करिब एक किलोमिटर क्षेत्रमा १५० भन्दा बढी पेडा पसल सञ्चालनमा छन्। ती पसलहरूमा दैनिक करिब १८ लाख रुपैयाँ बराबरको ८० मन दूध खपत हुने गरेको व्यवसायीहरूको भनाइ छ।
दैनिक करिब १० लाख रुपैयाँभन्दा बढीको पेडा बिक्री हुने यस व्यवसायबाट झण्डै २ हजार मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन्। साथै, करिब १५ हजार किसानले दैनिक दूध बिक्री गरी आर्थिक लाभ लिँदै आएका छन्। तर पछिल्लो समय भैँसीको दूध आपूर्ति घट्दै जाँदा पेडा उत्पादनसमेत घटेको व्यवसायी दयाराम साह बताउँछन्।
उनका अनुसार पेडा बनाउन गाईको दूधभन्दा भैँसीको दूध बढी उपयुक्त मानिन्छ। “पेडाको माग बढ्दै गएको छ, तर दूध उत्पादन घट्दै जाँदा व्यवसाय प्रभावित भएको छ,” उनले भने।
विशेषगरी चाडपर्वका बेला पेडाको माग अत्यधिक हुने भए पनि दूध अभावकै कारण अपेक्षित व्यापार हुन नसकेको अर्का व्यापारी चाँदे प्रसाद साहले बताए।
व्यवसायी शिवशरण साहका अनुसार, “हाम्रो पसलमा दैनिक १०० देखि १५० लिटर दूध खपत हुन्छ, तर त्यति परिमाणमा दूध पाउन कठिन भइरहेको छ।” उनले भैँसीको दूध अभाव भएपछि सप्तरी, सिरहा, सुनसरी, उदयपुर तथा भारतको डगमारा क्षेत्रबाट दूध ल्याएर व्यवसाय धान्नुपरेको जानकारी दिए।
जिल्लामा सरकारी स्तरबाट भैँसी पालनभन्दा जर्सी गाई पालनलाई बढी प्राथमिकता दिइँदै आएकोले भैँसीको दूध अभाव देखिएको व्यवसायीहरूको गुनासो छ।
दूधको अभाव दीर्घकालीन रूपमा रहिरहेमा पेडाको गुणस्तरमा समेत गिरावट आउने खतरा रहेको उनीहरूको भनाइ छ। साथै, पेडाको शुद्धता र गुणस्तर परीक्षण गर्ने निकायले पर्याप्त निगरानी नगर्दा केही व्यापारीहरूले मिसावटयुक्त पेडा उत्पादन गर्ने गरेको उपभोक्ताहरूको गुनासो छ।
त्यसैगरी, बसमा झोलामा राखेर बिक्री गरिने केही पेडा कम तौल र न्यून गुणस्तरका हुने भए पनि सम्बन्धित निकायको ध्यान नपुगेको उपभोक्ताहरूले बताएका छन्। यस्ता पेडाको सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने उनीहरूको चेतावनी छ। बरमझियामा व्यवसायीहरूबीच बढ्दो प्रतिस्पर्धाका कारण रात्री बसहरूलाई मिलाएर पसल अगाडि रोकी पेडा बिक्री गर्ने प्रवृत्ति पनि देखिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बरमझियाको पेडा अहिले गुणस्तर र तौलको शुद्धता जोगाउने चुनौतीसँग जुधिरहेको छ। व्यवसायीहरूले आफ्नो समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण गराउँदै किसानलाई भैँसी पालनतर्फ आकर्षित गर्न विशेष ‘पकेट प्याकेज’ कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।

