काठमाडौं, ५ वैशाख । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सन आज काठमाडौंस्थित महेन्द्र क्लब, भृकुटीमण्डपमा हुँदैछ। कन्भेन्सनसँगै आगामी लायन वर्ष २०२६/०२७ का लागि नयाँ नेतृत्व चयन हुने भएकाले संगठनभित्र चुनावी गतिविधि तीव्र बनेको छ।
निर्धारित प्रक्रियाअनुसार वर्तमान प्रथम उपगभर्नर अजयप्रसाद खनाल गभर्नरमा तथा द्वितीय उपगभर्नर मनोजकुमार सापकोटा प्रथम उपगभर्नरमा निर्वाचित हुने निश्चित देखिएको छ। द्वितीय उपगभर्नर पदका लागि किशोर भक्त श्रेष्ठ बलिया प्रत्यासीका रूपमा उभिएका छन्।
तीन दशकभन्दा लामो लायनिज्म यात्रामा सक्रिय श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमा उल्लेखनीय योगदान पुर्याएका छन्। उनले विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन्। त्रिवि रक्तसञ्चार केन्द्रमा सहयोग, अपाङ्ग सहयोग सामग्री वितरण तथा विभिन्न कोषहरूमा योगदान उनका प्रमुख कार्यहरूमा पर्छन्।
समावेशिता, भौगोलिक सन्तुलन र अनुभवका आधारमा श्रेष्ठलाई आगामी नेतृत्वका लागि उपयुक्त उम्मेदवारका रूपमा धेरै लायन सदस्यहरूले समर्थन जनाइरहेका छन्। उनले डिष्ट्रिक्टको संस्थागत विकास, पूर्वाधार निर्माण तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेका छन्।
व्यवसायिक रूपमा पनि सफल उद्यमी रहेका श्रेष्ठले रोजगारी सिर्जनासहित सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्। लामो अनुभव, नेतृत्व क्षमता र सेवाभावका कारण उनी यसपटकको निर्वाचनमा प्रमुख दाबेदारका रूपमा हेरिएका छन्।

