जनकपुरधाम, १६ वैशाख । जल तथा मौसम विज्ञान विभागले मधेश प्रदेशअन्तर्गत धनुषा जिल्लासहित आसपासका क्षेत्रमा आज साँझदेखि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले जारी गरेको सूचनाअनुसार आज साँझ ५:४५ बजेदेखि हावाहुरी सुरु हुने र भोलि बिहान ७:४५ बजेसम्म यसको प्रभाव रहने अनुमान गरिएको छ । धनुषासँगै बारा तथा आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको जोखिम रहेको जनाइएको छ ।
सोही सूचनाका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सकेसम्म घरबाहिर अनावश्यक हिँडडुल नगर्न, झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा कमजोर छाना वा जस्तापाताको संरचना भए सुरक्षित बनाउन सुझाव दिएको छ ।
सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै, हावाहुरीका बेला घरबाहिर आगो नबाल्न, कमजोर संरचना, अग्ला रुख तथा बिजुलीका खम्बा नजिक नबस्न पनि आग्रह गरिएको छ । बिजुलीको तार चुँडिएको वा लत्रिएको अवस्थामा नछुन विशेष अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना पनि रहेकाले धनुषावासीलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ ।


