जनकपुरधाम, २० वैशाख ।
पत्रकारहरूले सरकारले सञ्चारमाध्यममाथि अंकुश लगाउने प्रयास गरिरहेको आरोप लगाउँदै स्वतन्त्र मिडिया बिना लोकतन्त्र, सुशासन, शान्ति र समृद्धि सम्भव नहुने बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनुषामा आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने नीति ल्याएर प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताएका हुन्। उनीहरूले यस्तो नीति मिडियालाई कमजोर बनाउने र अन्ततः बन्द गराउने रणनीतिको हिस्सा भएको आरोप लगाए।
कार्यक्रममा वक्ताहरूले स्वतन्त्र प्रेस बिना सुशासन, शान्ति–सुव्यवस्था र लोकतान्त्रिक शासन प्रणाली सम्भव नहुने धारणा व्यक्त गरे। उनीहरूले निरंकुश शासन व्यवस्थाका समयमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाइएका उदाहरण स्मरण गर्दै वर्तमानमा पनि प्रेसमाथि नियन्त्रणको प्रयास भइरहेको बताए।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरण साहको अध्यक्षतामा आइतबार बिहान प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सरकारको सञ्चारमाध्यमप्रतिको रवैयाप्रति आक्रोश व्यक्त गर्दै निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय फिर्ता लिन माग गरे। अन्यथा, कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।
अन्तरक्रिया कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी रामभरत साहले सञ्चार क्षेत्र निष्पक्ष र स्वतन्त्र भएमा देश तथा समाजका सबै क्षेत्र बलियो बन्ने बताए। उनले विश्व प्रेस स्वतन्त्रता दिवस केवल औपचारिक कार्यक्रम नभई प्रेस स्वतन्त्रताको अवस्थाबारे समीक्षा गर्ने अवसर भएको उल्लेख गर्दै राज्यले सञ्चारमाध्यमप्रति देखाएको विभेदपूर्ण व्यवहारविरुद्ध संघर्ष गर्नुको विकल्प नरहेको धारणा राखे।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका संयोजक बुद्धनारायण सहनीले स्वतन्त्र मिडिया बिना लोकतान्त्रिक शासन प्रणाली प्रभावकारी हुन नसक्ने बताए। उनले निरंकुश शासन व्यवस्थामा प्रेस स्वतन्त्रता कुण्ठित हुने गरेको उदाहरण प्रस्तुत गर्दै शान्ति, पारदर्शिता र जवाफदेहिताका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्का, मिडिया काउन्सिल नेपालका निवर्तमान अध्यक्ष कैलास दास, इन्सेक मधेश प्रदेश संयोजक राजु पासमान, नेपाल पत्रकार महासंघका प्रदेश महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार नित्यानन्द मण्डल, अवधेश कामत, घनश्याम मिश्र, सुभाष कर्ण, राजन सिंह, कमल साह, धीरेन्द्र यादवलगायतले प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौतीबारे धारणा राखेका थिए।

