जनकपुरधाम ५ जेठ । धनुषा जिल्लामा एक महिनाको अवधिमा विभिन्न प्रकृतिका १११ वटा अपराधसम्बन्धी घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको वैशाख महिनाको तथ्यांकले जिल्लामा सामाजिक, आर्थिक तथा संगठित अपराधका घटना उल्लेख्य रूपमा रहेको देखाएको हो ।
प्रहरीको तथ्यांकअनुसार वैशाख महिनामा ज्यानसम्बन्धी एक, आत्महत्यासम्बन्धी आठ, चोरीसम्बन्धी आठ, संगठित तथा आर्थिक अपराधतर्फ १९, सामाजिक अपराधतर्फ ३३, सवारी ज्यानसम्बन्धी सात तथा अन्य विभिन्न प्रकृतिका ३५ घटना दर्ता भएका छन् । यसरी कुल १११ वटा घटनामा संलग्न व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
तथ्यांकअनुसार कर्तव्य ज्यान मुद्दामा एक जना, बैंकिङ कसुरअन्तर्गत १२ जना, जुवाताससम्बन्धी मुद्दामा एक जना तथा ठगीसम्बन्धी घटनामा सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यसले जिल्लामा आर्थिक अपराध र सामाजिक विकृतिका घटना पनि बढ्दो अवस्थामा रहेको संकेत गरेको छ ।
- आठ जनाले गरे आत्महत्या
- धनुषा जिल्लामा आत्महत्याका घटनामा वृद्धि हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरण अनुसार एक महिनाको अवधिमै ८ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार वैशाख महिनामा विष सेवन गरी आत्महत्या गरेको दुई वटा मुद्दा दर्ता भएको छ । जसमा एक पुरुष र एक महिला रहेका छन् । त्यसैगरी झुण्डिएर आत्महत्या गरेका ६ जनाको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
झुण्डिएर आत्महत्या गर्नेमा ४ पुरुष, १ बालक र १ बालिका रहेका छन् । पछिल्लो समय जिल्लामा आत्महत्याका घटनाहरू महिनैपिच्छे बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ ।
मानसिक तनाव, पारिवारिक विवाद, आर्थिक समस्या तथा सामाजिक दबाबजस्ता कारणले आत्महत्याका घटना बढ्न सक्ने अनुमान गरिएको छ । यद्यपि, घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले मानसिक तनावमा रहेका व्यक्तिलाई परिवार तथा समाजले समयमै सहयोग र परामर्श दिन आवश्यक रहेको उल्लेख गर्दै आत्महत्या न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।
प्रहरीका अनुसार चालु मुद्दाअन्तर्गत ८८ जना प्रतिवादी पक्राउ परेका छन् । त्यस्तै विभिन्न पुराना तथा पेन्डिङ मुद्दाको संख्या ६९ रहेको छ भने वैशाख महिनाभित्र ५७ मुद्दा फछ्र्योट गरिएको जनाएको छ । अपराध नियन्त्रणसँगै मुद्दा फछ्र्योटलाई पनि प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीअन्तर्गत ७६ जनालाई पक्राउ गरिएको तथ्यांकमा उल्लेख छ । यस्तै कैद तथा जरिवानावापत पाँच लाख ४२ हजार २३० रुपैयाँ असुल गरिएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको संख्या पनि उल्लेख्य रहेको देखिएको छ । वैशाख महिनामा यससम्बन्धी कुल ९५ वटा उजुरी परेको तथ्यांक छ । उमेर समूहअनुसार १८ वर्षमुनिका एक जना, १९ देखि २५ वर्ष उमेर समूहका ३४ जना, २६ देखि ४० वर्ष समूहका ४१ जना, ४१ देखि ५९ वर्षसम्मका आठ जना तथा ६० वर्षभन्दा माथिका ११ जनाले उजुरी दिएका छन् ।
हराएका तथा फेला परेका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि चिन्ताजनक देखिएको छ । प्रहरीका अनुसार वैशाख महिनामा हराएका व्यक्तिको संख्या ६५ पुगेको छ । जसमा ३३ महिला, १० पुरुष, एक बालक तथा २१ बालिका रहेका छन् । यता फेला परेकामध्ये १० महिला र तीन बालिका गरी १३ जना मात्रै भेटिएका छन् । अझै ५२ जना सम्पर्कविहीन अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।
यसैबीच, मिलापत्र तथा फछ्र्योटतर्फ १० वटा निवेदन परेकोमा २३ लाख ४५ हजार रुपैयाँ बराबरको विवाद समाधान गरिएको प्रहरीले जनाएको छ । साथै दुई धुर आठ का घरजग्गा सम्बन्धी विवाद पनि समाधान गरी सम्बन्धित पक्षलाई फिर्ता गरिएको छ ।
प्रहरीका अनुसार वैशाख ११ गते राराब क्याम्पस मा बीबीए परीक्षाका क्रममा चिट चोर्न नदिएको विषयलाई लिएर क्याम्पस प्रमुखविरुद्ध नाराबाजी भएपछि सुरक्षा व्यवस्थापनका लागि १९ जना प्रहरी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम राख्न सक्रिय रूपमा काम भइरहेको जनाएको छ ।



