हेटौंडा, २८ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) क्षेत्रमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति करिब १०ः३० बजे माण्डु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप भ्यान सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा उक्त गाडीका चालक थिए भने यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो। टोलीले दुवै जनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो।
बुधबार राति दुर्घटना भए पनि उनीहरूलाई बिहीबार बिहान मात्र हेटौंडा अस्पताल ल्याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



