जनकपुरधाम, ३० जेठ । जनकपुरधाम उपमहा नगरपालिका–७ स्थित सालीग्राम भगवान हनुमानजी रामजानकी कुम्हार कुट्टीका महन्थ लक्ष्मण दासले जानकी मन्दिरका महन्थ रामरोशन दास र तत्कालीन वडाध्यक्ष जानकीराम साहमाथि जग्गा विवादका कारण आफूलाई महन्थ पदबाट वञ्चित गरिएको आरोप लगाएका छन् ।
शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महन्थ दासले कुट्टीअन्तर्गत रहेको जग्गा आफूले मागअनुसार नदिएपछि आफ्नो दाजु विनोद दासलाई महन्थ घोषणा गराइएको दाबी गरेका छन् ।
उनका अनुसार उनका पिता अघनु दासको नाममा कुट्टीअन्तर्गत करिब अढाई बिघा जग्गाको कागजात रहेको छ । सोही जग्गामध्ये डेढ कट्ठा जग्गा जानकी मन्दिरका महन्थ रामरोशन दासले मागेको तर निजी स्वामित्वको जग्गा भएकाले आफूले दिन अस्वीकार गरेको उनले बताए ।
“मेरो बुवाको नाममा रहेको जग्गामध्ये डेढ कट्ठा जग्गा दिन आग्रह गरिएको थियो । निजी जग्गा भएकाले मैले अस्वीकार गरेँ । त्यसपछि मेरो दाजु विनोद दासलाई अगाडि सारेर महन्थ बनाउने प्रक्रिया अघि बढाइयो,” दासले दाबी गरे ।
उनले २०७८ जेठ २२ गते पिता अघनु दासको निधन भएपछि साधुसन्तको परम्पराअनुसार अन्त्येष्टि गरिएको र त्यसबेला आफू नै कुट्टीको पुजारी रहेकाले आफूलाई महन्थका रूपमा स्वीकार गरिएको बताए । उनका अनुसार निधनको करिब एक महिनापछि महन्थ रामरोशन दासले दोसल्ला र पाग लगाएर आफूलाई महन्थ घोषणा गरे पनि त्यससम्बन्धी कुनै औपचारिक वा लिखित प्रमाण उपलब्ध गराइएन ।
दासले पछि महन्थ पदलाई लिएर जग्गाको विषयमा ‘बार्गेनिङ’ भएको आरोप लगाउँदै आफूले जग्गा दिन अस्वीकार गरेपछि आफ्नो दाजु विनोद दासलाई अगाडि सारिएको बताए ।
उनले जानकी मन्दिरका महन्थ रामरोशन दास, तत्कालीन वडाध्यक्ष जानकीराम साह तथा विनोद दासविरुद्ध जालसाजीको मुद्दासमेत दायर गरेको जानकारी दिए । तर प्रतिवादी पक्षले आवश्यक कागजात मिलाएर विनोद दासलाई एकल उत्तराधिकारीका रूपमा स्थापित गर्न सफल भएको र अदालतबाट पनि सोही पक्षमा फैसला भएको उनको आरोप छ ।
“अदालतको फैसला पनि मेरो पक्षमा आएन । त्यसकारण म अन्यायमा परेको महसुस गरेको छु,” दासले भने ।



