जनकपुरधाम, ७ असार । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको पाँचौँ साधारणसभा शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बञ्जाराको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकाले पत्रकारहरू स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित हुनुपर्ने बताएका छन्।
पत्रकारले सुरक्षाको अनुभूति गर्न नसके अभिव्यक्ति स्वतन्त्रता कमजोर हुने र त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक प्रणालीमा पर्ने उल्लेख गर्दै उनले पत्रकारको सुरक्षा र स्वतन्त्रता लोकतन्त्र सुदृढीकरणको पूर्वशर्त भएको बताए।
“पत्रकार स्वतन्त्र हुनुपर्छ, पत्रकारले सुरक्षाको अनुभूति गर्नुपर्छ। जब पत्रकार सुरक्षित र स्वतन्त्र हुन्छन्, तब मात्र लोकतन्त्रको वास्तविक अभ्यास सम्भव हुन्छ,” मन्त्री महतोले भने।
उनले सञ्चार क्षेत्रलाई सुदृढ बनाउन प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै पत्रकारका पेशागत समस्या समाधान तथा सञ्चार क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए। सञ्चार क्षेत्रको विकासमा सरकार र पत्रकार समुदायबीच सहकार्य अपरिहार्य रहेको उनको धारणा थियो।
कार्यक्रममा श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले समाजमा समानता, न्याय र सुशासन स्थापना गर्न सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। पत्रकारिताले जनताका आवाजलाई नीति निर्माण तहसम्म पु¥याउने माध्यमका रूपमा काम गर्ने भएकाले पत्रकारको क्षमता अभिवृद्धि र पेशागत संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले बताइन्।
मन्त्री थापाले सीमित स्रोत–साधनका बाबजुद प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्ने प्रयास गरिरहेको उल्लेख गरिन्।
“मधेश प्रदेशमा चुनौती र समस्या दुवै धेरै छन्। सीमित स्रोतका बीच जनताको आवश्यकता पूरा गर्नुपर्ने अवस्था छ। बजेट सीमित भए पनि सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन,” उनले भनिन्।
उनले विकास निर्माण, रोजगार सिर्जना, यातायात व्यवस्थापन तथा सामाजिक क्षेत्रका समस्याको समाधानका लागि प्रदेश सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिइन्।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार, सञ्चार क्षेत्रको संस्थागत विकास तथा प्रदेशस्तरमा सञ्चारमैत्री नीति निर्माणको आवश्यकता औँल्याएका थिए। उनीहरूले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, व्यावसायिक र उत्तरदायी बनाउन राज्य, सञ्चार संस्था तथा पत्रकार स्वयंको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।
महासंघका प्रदेश अध्यक्ष बञ्जाराले चुनौतीपूर्ण परिस्थितिका बीच पत्रकारिता क्षेत्रले आफ्नो दायित्व निर्वाह गरिरहेको उल्लेख गर्दै पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा क्षमता विकासका लागि महासंघ निरन्तर क्रियाशील रहेको बताए।
बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूले तथ्यमा आधारित, जिम्मेवार र जनपक्षीय पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले पत्रकारको सुरक्षा, सामाजिक सुरक्षा, श्रम अधिकार तथा पेशागत सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिए।
साधारणसभामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकार, सञ्चारकर्मी, महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महासंघकी महिला उपाध्यक्ष ज्योति झाले कार्यक्रममा पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, संगठनको भावी कार्यदिशा तथा सञ्चार क्षेत्रको विकाससम्बन्धी विषयमा विस्तृत छलफल भएको जानकारी दिइन्।



