जनकपुरधाम, ७ असार । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार जेठ मसान्तसम्म कुल ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ राजस्व प्राप्त भएको हो।
अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले प्रदेशको आन्तरिक राजस्व संकलन ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारको प्रमुख आन्तरिक आयस्रोत घरजग्गा रजिस्ट्रेशन शुल्क तथा सवारीसाधन कर रहेका छन्।
समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेशन शुल्कबाट १ अर्ब १८ करोड १२ लाख ९५ हजार रुपैयाँ तथा सवारीसाधन करबाट २ अर्ब १ करोड ५० लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, सवारी चालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता दस्तुरबाट ६८ करोड ८२ लाख ७० हजार रुपैयाँ, यातायात क्षेत्रसँग सम्बन्धित अन्य आम्दानीबाट ११ करोड १० लाख ५९ हजार रुपैयाँ तथा दहत्तर–बहत्तर बिक्रीबाट १० करोड ९ लाख ३५ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।
प्रदेश सरकारले संघीय राजस्व बाँडफाँटमार्फत पनि उल्लेखनीय रकम प्राप्त गरेको छ। मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँटबाट ७ अर्ब ७५ करोड ६४ लाख ९९ हजार रुपैयाँ तथा अन्तःशुल्क करबाट २ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ।
यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ७ अर्ब ६ करोड १६ लाख ७८ हजार रुपैयाँ प्राप्त भएको छ। सशर्त अनुदानतर्फ चालु खर्चका लागि २ अर्ब १७ करोड २७ लाख ७२ हजार रुपैयाँ तथा पुँजीगत खर्चका लागि १ अर्ब ५६ करोड ३० लाख ४० हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, घरजग्गा कारोबारमा कमी, नयाँ सवारीसाधन खरिद–बिक्री घट्नु तथा गत भदौ २३ र २४ गते जनमत पार्टी नेतृत्वमा भएको आन्दोलनका क्रममा राजस्व संकलन गर्ने निकायमा पुगेको क्षतिले राजस्व संकलन प्रभावित भएको थियो।
यद्यपि विभिन्न चुनौतीका बाबजुद चालु आर्थिक वर्षको ११ महिनामा भएको राजस्व संकलन समग्रमा सन्तोषजनक रहेको अर्थ मन्त्रालयको भनाइ छ।



