जनकपुरधाम, १७ असार । अन्नको भण्डारका रूपमा परिचित मधेश प्रदेशमा मनसुन सक्रिय भई नियमित वर्षा हुन थालेसँगै धान रोपाइँले गति लिन थालेको छ। कृषि विकास निर्देशनालय, नक्टाझिजका अनुसार हालसम्म प्रदेशमा कुल खेतीयोग्य धान क्षेत्रफलको ४.३६ प्रतिशत अर्थात् १६ हजार ७११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीका अनुसार मधेश प्रदेशका आठ जिल्लामा करिब ३ लाख ८२ हजार ४३६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। रौतहट र पर्साबाहेक अधिकांश जिल्लामा धान रोपाइँ सुरु भइसकेको छ भने वर्षा नियमित भए आगामी दिनमा रोपाइँको गति अझ तीव्र हुने अपेक्षा गरिएको छ।
जिल्लागत विवरणअनुसार धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये ३ हजार ५९ हेक्टर, महोत्तरीमा ४० हजार हेक्टरमध्ये ३ हजार २६६ हेक्टर, बारामा ४५ हजार १ सय हेक्टरमध्ये ३ हजार २५० हेक्टर तथा सिरहामा ५४ हजार हेक्टरमध्ये २ हजार ७ सय हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३ हजार ४ सय हेक्टर र सर्लाहीमा ४२ हजार ६ सय ९५ हेक्टरमध्ये १ हजार १३६ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ।
यसबीच, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धानबालीका लागि आवश्यक पर्ने युरिया र डीएपी मल पर्याप्त मौज्दातमा रहेको जनाएको छ। मन्त्रालयका अनुसार यस वर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने दाबी गरिएको छ।प्रदेशका ८ वटै जिल्लाका १३६ स्थानीय तहका लागि ७ हजार ३२८ मेटिूक टन युरिया र ६ हजार ६१० मेटिूक टन डीएपी मल बाँडफाँड गरिएको छ। जसमध्ये सप्तरीका लागि ६७५ मेटिूक टन युरिया र १ हजार ३५ मेटिूक टन डीएपी, सिरहाका लागि १ हजार ७२ मेटिूक टन युरिया र १ हजार १३६ मेटिूक टन डीएपी, धनुषाका लागि ९२६ मेटिूक टन युरिया र ७७८ मेटिूक टन डीएपी तथा महोत्तरीका लागि ८८० मेटिूक टन युरिया र ७४० मेटिूक टन डीएपी छुट्याइएको छ।

यस्तै सर्लाहीका लागि १ हजार ९३ मेटिूक टन युरिया र ९१९ मेटिूक टन डीएपी, रौतहटका लागि ८७५ मेटिूक टन युरिया र ७३६ मेटिूक टन डीएपी, बाराका लागि ८१९ मेटिूक टन युरिया र ६८९ मेटिूक टन डीएपी तथा पर्साका लागि ६८७ मेटिूक टन युरिया र ५७८ मेटिूक टन डीएपी विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
यद्यपि, सरकारले पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि किसानले भने सहज रूपमा मल प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। स्थानीय तहहरूले समयमै आफ्नो कोटाअनुसारको मल नउठाउने, साथै सहकारी संस्थाहरूले मल वितरणमा आफ्ना सदस्यलाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै किसान अझै पनि मलबाट वञ्चित भएको उनीहरूको भनाइ छ।
मधेश प्रदेश सरकारले ‘खेतखेतमा पानी’ भन्ने नारासहित कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य अघि सारे पनि सिँचाइ पूर्वाधार अपेक्षाअनुसार विस्तार हुन सकेको छैन। अधिकांश खेती अझै पनि वर्षामुखी रहेकाले किसानहरू आकाशे पानीकै भरमा धान रोप्न बाध्य छन्। यस वर्ष भने समयमै मनसुन भित्रिएर पर्याप्त वर्षा हुन थालेपछि किसानहरू उत्साहका साथ धमाधम धान रोपाइँमा जुटेका छन्। एआईद्वारा निर्मित तस्वीर



