जनकपुरधाम, १२ साउन। जनकपुरधामका ऐतिहासिक तथा सार्वजनिक पोखरी संरक्षण अभियानलाई अघि बढाउने उद्देश्यले गुठी संस्थानका प्रशासक शैलेशराज कुँवर नेतृत्वको टोली मंगलबार जनकपुरधाम पुगेको छ।
जनकपुरधाम उपमहानगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा नगरप्रमुख मनोजकुमार साह, प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे तथा कार्यपालिका सदस्य राकेशविक्रम साहले गुठी संस्थानको टोलीलाई स्वागत गरेका थिए।
भेटका क्रममा जनकपुरधामभित्र रहेका गुठीका जग्गा तथा ऐतिहासिक पोखरीहरूको संरक्षण, अतिक्रमण हटाउने प्रक्रिया र आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाका अनुसार मंगलबार बस्ने संयुक्त बैठकपछि पहिलो चरणमा रेखाङ्कन सम्पन्न भइसकेका सातवटा पोखरी क्षेत्रबाट बुधबारदेखि अतिक्रमण हटाउने अभियान सुरु गरिने तयारी गरिएको छ।
पोखरी क्षेत्रको संरक्षण, सार्वजनिक सम्पत्तिको व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणका लागि गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच समन्वयात्मक रूपमा अभियान सञ्चालन गरिने जनाइएको छ।
स्थानीय सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पोखरीहरूको संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।



