जनकपुरधाम, २२ साउन । मधेश प्रदेशको जीवनरेखा मानिने पूर्व(पश्चिम हुलाकी राजमार्ग निर्माणको १६ वर्षमा भौतिक प्रगति ९० प्रतिशत पुगेको छ।
धनुषा, महोत्तरी, सिरहा र सर्लाहीलाई जोड्ने यस सडकको कुल लम्बाइ ४०६.४३ किलोमिटर रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरधामका अनुसार आयोजनाको कुल लागत ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।
कार्यालयका सूचना अधिकारी तथा साइट इन्जिनियर रजितकुमार रायका अनुसार आयोजनाअन्तर्गत ६१ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २४ वटा पुल निर्माण सम्पन्न भएका छन्। १९ वटा पुल निर्माणाधीन छन् भने १६ वटा पुलको ठेक्का भइसकेको छ। बाँकी दुई वटा पुलको ठेक्का प्रक्रियामा रहेको उनले बताए।
आर्थिक वर्ष २०६६÷०६७ मा सुरु भएको हुलाकी सडक निर्माण आर्थिक वर्ष २०८३÷०८४ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ। हालसम्म ३४७.६३ किलोमिटर सडक कालोपत्र गरिएको छ। जिल्लागत रूपमा सिरहामा २९.९८ किलोमिटर, महोत्तरीमा ९१.५६ किलोमिटर र सर्लाहीमा १५१.५१ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ।
निर्माणका क्रममा स्थानीयवासीको अवरोध, अदालतमा परेका मुद्दा तथा जग्गा व्यवस्थापनसम्बन्धी समस्याका कारण पटक(पटक काम प्रभावित हुने गरेको कार्यालयको भनाइ छ। सडक विस्तारका क्रममा अतिक्रमित घर(टहरा हटाइएकाहरूलाई संघीय सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। हालसम्म अतिक्रमित जग्गाबापत १९ करोड रुपैयाँ तथा घर(टहरा भत्काइएकाबापत ४९ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ। अझै १५ करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ।
आयोजनाको सबैभन्दा चुनौतीपूर्ण मानिएको कमला पुलको निर्माण पनि ९० प्रतिशत सम्पन्न भएको छ। हुलाकी सडक सञ्चालनमा आएसँगै यस मार्गबाट दैनिक सात हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् भने करिब ३२ लाख नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
भारतको सीमावर्ती क्षेत्रसँग समानान्तर रूपमा निर्माण भइरहेको यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि मधेशको ग्रामीण अर्थतन्त्र, व्यापार, कृषि उत्पादनको बजारीकरण तथा आवागमनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।



