जनकपुरधाम, २ भदौ । सामाजिक, धार्मिक तथा सांस्कृतिकलगायतका क्षेत्रमा काम गर्दै आएको जनकपुरधामको गणेश युवा कमिटीको नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन प्रक्रिया पूरा भएपछि उनीहरूको औपचारिक घोषणा भने गर्न बाँकी रहेको निर्वाचन अधिकृत सन्तोषकुमार साहले जानकारी दिएका छन् ।
निर्वाचन तालिकाअनुसार कमिटीका विभिन्न पदमा मंगलबार मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको थियो । तर सबै पदमा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता भएकाले उनीहरू स्वतः निर्विरोध निर्वाचित भएका हुन् ।
कमिटीको अध्यक्षमा रामसोगारथ साह (पप्पु), उपाध्यक्षमा संजयकुमार साह, महासचिवमा अशोककुमार श्रेष्ठ, सचिवमा लक्ष्मीकुमार साह र कोषाध्यक्षमा विष्णुकुमार मण्डल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्य पदमा रंजितकुमार गुप्ता, लक्ष्मण साह, अरुण साह, राकेशकुमार भगत, लालबाबु साह र विजयकुमार साह निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत साहका अनुसार निर्वाचन तालिकाअनुसार मंगलबार उम्मेदवारी दर्ता तथा बुधबार दाबी–विरोधलगायतका कार्यक्रम राखिएको छ । हालसम्म सबै पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको र कुनै पदमा पनि प्रतिस्पर्धी उम्मेदवारी नपरेकाले दाबी–विरोधको प्रक्रिया पूरा भएपछि उनीहरूलाई औपचारिक रूपमा निर्विरोध निर्वाचित घोषणा गरिने सम्भावना रहेको छ ।



