जनकपुरधाम, ८ कात्तिक । धनुषामा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंका गरिएको छ।
प्रहरीका अनुसार रिनाको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
मिथिला बिहारी नगरपालिका–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए।
मृतक दम्पतीका चार वर्षीय छोरा छन्। बालकको एउटा तिघ्रामा समेत धारिलो हतियार प्रहारबाट घाउ लागेको पाइएको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताए। उनका अनुसार घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



